प्रचण्डले ठूला दलसँग गठबन्धन नगर्दा नुवाकोट-२ मा हिरानाथलाई मौका

प्रचण्डले ठूला दलसँग गठबन्धन नगर्दा नुवाकोट-२ मा हिरानाथलाई मौका

काठमाडौं : २०७९ को निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनका कारण टिकट नपाएर रित्तो हात फर्किएका हिरानाथ खतिवडालाई यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नुवाकोट  क्षेत्र नम्बर २ मा विश्वास गरेको छ।

पार्टीले नुवाकोटमा अन्य कुनै ठूला दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेसँगै खतिवडाले टिकट पाएका हुन्।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन (कांग्रेस-माओवादी) का तर्फबाट यो क्षेत्र नेपाली कांग्रेसका अर्जुननरसिंह केसीको भागमा परेको थियो।

सो समयमा प्रतिनिधिसभा मात्र होइन, प्रदेश सभा (२) समेत कांग्रेसकै भागमा पर्दा खतिवडाले टिकट पाएनन्। पार्टीको निर्णय मान्दै उनले केसीका लागि बाटो खाली गरिदिएका थिए।

यसपटक भने जिल्लामा ठूलो प्रभाव भएका दलहरूसँग पार्टीले गठबन्धन नगर्दा टिकट उनको भागमा परेको छ। त्यो पनि प्रदेश सभाको हैन, प्रतिनिधि सभाकै।

अघिल्लो निर्वाचनमा उम्मेदवार बन्न नपाए पनि उनी पार्टी काममा सक्रिय थिए। तर, टिकट पाए पनि खतिवडाका लागि चुनावी नतिजा आफ्नो पक्षमा पार्न भने फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ।

पार्टीले टिकट दिए पनि नुवाकोटमा सङ्गठनको प्रभाव कमजोर हुनु खतिवडाका लागि मुख्य चुनौती हो।

२०७९ को स्थानीय तह निर्वाचनमा विदुर नगरपालिकामा प्रभा बोगटीले जित हासिल गरे पनि त्यो जित गठबन्धन र उनका बुवा स्व. पोष्टबहादुर बोगटीको विरासतका कारण सम्भव भएको देखिन्छ।

नुवाकोट क्षेत्र नम्बर २ मा पर्ने अन्य पालिकाहरूमा पनि तत्कालीन माओवादीको जस्तो विरासत छैन।

अहिले न त कांग्रेससँगको गठबन्धन छ, न त खतिवडाको व्यक्तिगत प्रभाव बोगटीको जस्तो बलियो मानिन्छ। एक्लै चुनावी मैदानमा उत्रिँदा उनको अवस्था कमजोर देखिने चर्चा छ।

खतिवडाको विगतको संसदीय यात्रा हेर्दा पनि उनी गठबन्धनकै बलमा उदाएको देखिन्छ। २०७४ को निर्वाचनमा उनले नुवाकोट क्षेत्र नम्बर २ (प्रदेश सभा २) बाट जित हासिल गरेका थिए। त्यतिबेला उनले नेपाली कांग्रेसका जगतबहादुर तामाङलाई पराजित गरेका थिए।

खतिवडाले १७ हजार ६२ मत ल्याउँदा कांग्रेसका तामाङले १४ हजार ५२ मत ल्याएका थिए। तर, त्यो जितमा तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीचको ‘वाम गठबन्धन’ को निर्णायक भूमिका थियो।

यसपटक एमाले र कांग्रेसजस्ता ठूला दलको साथबिना एक्लै मैदानमा उत्रिँदा खतिवडालाई २०७४ को साख जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ।

माघ ५, २०८२ सोमबार १२:५८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।