आईसीसीले दियो बंगलादेशलाई दियो बुधबारसम्मको ‘डेडलाइन’, नखेले स्कटल्यान्डलाई मौका

आईसीसीले दियो बंगलादेशलाई दियो बुधबारसम्मको ‘डेडलाइन’, नखेले स्कटल्यान्डलाई मौका

काठमाडौं : सन् २०२६ को टी-२० विश्वकपमा बंगलादेशको सहभागिताबारे अन्तिम निर्णय जनवरी २१ अर्थात बुधबारसम्म हुने भएको छ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले सुरक्षाको कारण देखाउँदै भारतमा गएर खेल्न अस्वीकार गरेपछि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अन्तिम निर्णय लिन उक्त मितिसम्मको समयसीमा तोकेको हो।

बीसीबीले आफू विश्वकप खेल्न चाहेको तर भारतमा नभई सह-आयोजक राष्ट्र श्रीलंकामा खेल्न पाउनुपर्ने अडान राखेको छ। सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारत भ्रमण गर्न आनाकानी गरेको हो।

तर, आईसीसीले पूर्व निर्धारित खेल तालिका परिवर्तन नगर्ने स्पष्ट पारेको छ। हालको तालिका अनुसार बंगलादेश समूह ‘सी’मा छ र उसका खेलहरू भारतको कोलकाता र मुम्बईमा हुनेछन्।

बंगलादेशले आयरल्याण्ड सँग समूह साटफेर गर्ने प्रस्ताव राखे पनि आईसीसीले त्यसलाई अस्वीकार गरेको छ। आईसीसीले बंगलादेशलाई भारतमा कुनै सुरक्षा खतरा नरहेको आश्वासन दिएको छ।

आईसीसीले अन्तिम निर्णय लिने जिम्मा बीसीबीलाई नै छाडिदिएको छ। यदि जनवरी २१ सम्ममा बंगलादेशले भारत जान अस्वीकार गरेमा, आईसीसीले बंगलादेशको सट्टामा स्कटल्याण्डलाई विश्वकपमा समावेश गर्ने सम्भावना छ। विश्वकप फेब्रुअरी ७ बाट सुरू हुँदैछ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को निर्देशनमा इन्डियन प्रिमियर लिग(आईपीएल)को फ्रेन्चाइज टिम कोलकाता नाइट राइडर्स (केकेआर)ले बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई विना कारण टिमबाट हटाएको थियो।

यसको प्रतिक्रिया स्वरूप बंगलादेश सरकारले आफ्नो देशमा आईपीएल प्रसारणमा प्रतिबन्ध लगायो। लगत्तै बीसीबीले भारतमा हुने टी-२० विश्वकपका खेलहरू खेल्न नसक्ने पत्र आईसीसीलाई पठाएको थियो। त्यही अडानका कारण अहिले विश्वकप सहभागिता नै अनिश्चित बनेको हो।

माघ ५, २०८२ सोमबार ११:२९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।