देवेन्द्रले बागलुङ छाड्दा श्रीमतीलाई समानुपातिकको एक नम्बर !

देवेन्द्रले बागलुङ छाड्दा श्रीमतीलाई समानुपातिकको एक नम्बर !
तस्बिर : देवेन्द्र पौडेलको फेसबुकबाट

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)भित्र टिकट वितरण र समानुपातिक सूचीको विषय पेचिलो बन्दै गएको छ।

यसै क्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रभावशाली नेता देवेन्द्र पौडेलको ‘पावर पोलिटिक्स’ सतहमा आएको छ।

पौडेलले आफूले यसअघि निर्वाचन लड्दै आएको बागलुङ छाडेर लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम-२ रोजेका छन् भने अर्कोतर्फ समानुपातिक सूचीमा श्रीमतीलाई सुरक्षित स्थानमा राख्न सफल भएका छन्।

पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीको अन्तिम संशोधनमा पौडेलको प्रभाव देखिएको छ। सुरुमा पार्टीले तयार पारेको ११० जनाको सूचीमा पौडेलकी पत्नी बलावती शर्माको नाम कतै थिएन। तर, अन्तिम समयमा बन्दसूची सच्याउँदै शर्मालाई खस-आर्य महिलातर्फको ‘एक नम्बर’ मा राखिएको छ।

यसअघि सो क्लस्टरको पहिलो नम्बरमा रहेकी नेतृ करुणा बस्नेतलाई भने आठौं नम्बरमा धकेलिएको छ। पार्टीभित्र लामो समय सक्रिय बस्नेतलाई पछि पार्दै अन्तिम समयमा सूचीमा प्रवेश पाएकी शर्मालाई शीर्ष स्थान दिइएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ।

बलावती शर्मालाई समानुपातिकको सबैभन्दा सुरक्षित मानिने पहिलो नम्बरमा ल्याउनुका पछाडि बागलुङको आन्तरिक शक्ति सन्तुलन मुख्य कारण हो।

नेता पौडेलले सुरुमा बागलुङबाटै निर्वाचन लड्ने देखाएका थिए। बागलुङ-२ मा नेपाली कम्युनिष्ट पार्टीको राम्रो पकड छ भने बागलुङ-१ पौडेलको जन्मथलो भएको क्षेत्र हो। तर, सो क्षेत्रमा पार्टीका जिल्ला तहका नेताहरूले यसपटक आफूहरूले अवसर पाउनुपर्ने भन्दै दाबी नछाडेपछि पौडेल अप्ठ्यारोमा परे।

अन्ततः पौडेलले रणनीतिक रूपमा ‘त्याग’ को बाटो रोजे। उनले बागलुङका स्थानीय नेताका लागि आफ्नो पुरानो क्षेत्र खाली गरिदिए। यही त्यागको ‘सोधभर्ना’ स्वरूप उनले श्रीमती बलावतीलाई समानुपातिक सांसद सुनिश्चित गराएका हुन्।

गण्डकी प्रदेशको राजनीतिमा प्रभावशाली मानिने पौडेल अब लुम्बिनी प्रदेशबाट चुनावी मैदानमा उत्रिने भएका छन्। उनले नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने पक्का भएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पौडेललाई नवलपरासी पश्चिम-२ बाट चुनाव लड्न टिकट दिइसकेका छन्। टिकट सुनिश्चित भएसँगै पौडेल बागलुङ छाडेर नवलपरासी पश्चिममा चुनावी अभियानका लागि पुगिसकेका छन्।

देवेन्द्र पौडेल बागलुङको राजनीतिमा एकछत्र प्रभाव जमाएका नेता हुन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धनको बलमा एमालेकी मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै लगातार दोस्रो पटक जित हासिल गरेका थिए।

माघ ५, २०८२ सोमबार १०:२३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।