भारतमा न्युजिल्यान्डको ऐतिहासिक जित, विराटको शतकका बाबजुद ओडिआई शृङ्खला २-१ ले कब्जा
एजेन्सी : न्युजिल्यान्डले भारतको घरेलु मैदानमा पहिलो पटक एकदिवसीय (ओडिआई) क्रिकेट शृङ्खला जितेर इतिहास रचेको छ। इन्दौरमा सम्पन्न निर्णायक खेलमा भारतलाई पराजित गर्दै न्युजिल्यान्डले ३ खेलको शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको हो।
चोटग्रस्त खेलाडीहरूको समस्याका बाबजुद पहिलो खेल हारेर १-० ले पछि परेको अवस्था उल्टाउँदै न्युजिल्यान्डले यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो। यसअघि न्युजिल्यान्डले भारतमा पहिलो पटक टेस्ट शृङ्खला पनि जितेको थियो। भारतले घरेलु मैदानमा टस जितेका पछिल्ला १४ खेलमा हार बेहोरेको यो पहिलो पटक हो।
टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५८ रनमा ३ विकेट गुमाएको खराब अवस्थाबाट खेलमा पुनरागमन गरेको थियो। ड्यारेल मिचेल र ग्लेन फिलिप्सले चौथो विकेटका लागि २१९ रनको कीर्तिमानी साझेदारी गरे।
मिचेलले भारतविरुद्ध आफ्नो उत्कृष्ट लय कायम राख्दै यस शृङ्खलाको दोस्रो शतक प्रहार गरे। त्यस्तै, ग्लेन फिलिप्सले ८८ बलमा १०६ रनको योगदान दिए। यी दुईको उत्कृष्ट ब्याटिङको मद्दतले न्युजिल्यान्डले ३३७ रनको विशाल योगफल तयार पारेको थियो।
३३८ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रह्यो। टोलीले ७१ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। हार्दिक पाण्ड्या र अक्षर पटेल जस्ता खेलाडीको अनुपस्थितिमा विराट कोहलीले इनिङ्स सम्हालेका थिए।
कोहलीले आफ्नो ओडिआई करियरको ५४औँ शतक प्रहार गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरे। उनलाई युवा अलराउन्डरहरू नितिश कुमार रेड्डी र हर्षित राणाले राम्रो साथ दिए। दुवै युवा खेलाडीले आफ्नो पहिलो ओडिआई अर्धशतक प्रहार गरे। हर्षित राणा र कोहलीबीच ९९ रनको साझेदारी भए पनि राणा आउट भएपछि खेल न्युजिल्यान्डको पक्षमा मोडियो।
अन्त्यमा, जितका लागि ४६ रन आवश्यक हुँदा विराट कोहली नवौं विकेटका रूपमा आउट भएपछि भारतको जितको सम्भावना सकियो।
न्युजिल्यान्डका बलरहरूले इन्दौरको ब्याटिङ मैत्री पिचमा पनि संयमित बलिङ गरे। काइल जेमिसनले नयाँ बलमा महत्त्वपूर्ण विकेट लिए भने स्पिनर जेडेन लेनोक्सले १० ओभरमा ४२ रन दिएर २ विकेट लिए। भारतीय स्पिनरहरू कुलदीप यादव र रवीन्द्र जडेजा महँगो साबित हुँदा न्युजिल्यान्डका स्पिनरहरूले खेल नियन्त्रणमा राखे।
भारतका लागि मोहम्मद सिराजले १० ओभरमा ४३ रन मात्र दिएर किफायती बलिङ गरे पनि अर्शदीप सिंह र हर्षित राणाले ३-३ विकेट लिए पनि धेरै रन खर्चिएका थिए।
माघ ५, २०८२ सोमबार ०८:३८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।