उदार हर्क, कृतघ्न बालेन : बिदाइमा देखिएको दुई स्वतन्त्रको शैली

उदार हर्क, कृतघ्न बालेन : बिदाइमा  देखिएको दुई स्वतन्त्रको शैली

काठमाडौं : एकै समय, उही शैलीको प्रचार, दुवै स्वतन्त्र उम्मेदवार अनि चुनाव चिन्ह पनि एकै लौरो। स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गर्दा बालेन शाहलाई जसरी पत्याइएन उता धरान उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गर्दा पनि पत्याइएन।

तर नतिजा दुवैको दमदार। काठमाडौंमा स्वतन्त्र उम्मेदवारमा बालेनको जितहुँदा धरानमा हर्कले पनि अबिर माला लगाए। पृष्ठभूमि हेर्ने हो भने हर्क निर्वाचन अगाडिबाटै सामाजिक काममा सक्रिय थिए। चोक चोकमा हाते माइक बोकेर एक्लै भाषण गर्दै हिँड्थे, नगरपालिकाको कार्यालयमा गएर जवाफ खोज्थे, घोपा क्याम्पको अनियमितता विरुद्ध आन्दोलन गरेका थिए।

निर्वाचनको बेलामा पर्चा बोकेर प्राय एक्लै घर घर हिँड्ने उनीबारे स्थानीय मिडियाले केही लेखे पनि केन्द्रले चासो दिएको थिएन।

काठमाडौँको पर्याप्त सोसाइटीमा मात्र परिचित बालेन सामाजिक काममा परिचित थिएनन्। न काठमाडौँवासीको पक्षमै वकालत गरेका थिए। त्यसैले उनले फ्याट्ट सामाजिक सञ्जालमा स्वतन्त्र मेयर उम्मेदवार हुने घोषणा गर्दा उनकै पर्याप्त टोलीबाट पनि जोकको रूपमा लिएका थिए। तर दुवैले उम्मेदवारी दिए र जिते पनि।

कार्यकाल पनि दुवैको एकै भयो। दुवै भावी प्रधानमन्त्रीको सपना बोकेर एकै दिन मेयर पदबाट राजीनामा दिए। र एकै दिन प्रतिनिधि सभाको उम्मेदवार बन्दैछन्। फरक बालेन राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्दैछन्, हर्क आफ्नै अध्यक्षतामा दर्ता गरेको श्रम संस्कृति पार्टीबाट।

दुवैको मेयरको कार्यकाल हेर्ने हो भने हर्क आफ्नो कार्यशैली र सामाजिक सञ्जालको व्यवहारको कारण विवादमा आए। बालेन सामाजिक सञ्जालको व्यवहारका कारण विवादमा आए। महानगरको विवादमा हर्क अगाडि देखिए। नगर कार्यपालिकाका अधिकांश बैठक विवादले स्थगित भए। कहिले उपमेयरसँग झगडा त कहिले वडाध्यक्षसँग झगडामै अलमलिए हर्क।

नगर कार्यपालिकाको बैठकमा त्यति विवाद भएन बालेनको। तर प्रमुख कार्यकारीसँगको विवादले भने महानगरको काम लामै समय अवरुद्ध भयो। आर्थिक गतिविधि ठप्प भएपछि उपमेयर सुनिता डङ्गोलसहित कर्मचारी मिलेन बालेन विरुद्ध विद्रोह|गर्दै प्रमुख कार्यकारीलाई हाजिर गराउनु परेको थियो।

तर शहरका न्यून आए भएका वर्गमाथिको व्यवहारमा बालेन अति क्रूर देखिए। काठमाडौँका सडकमा नगर प्रहरीको व्यवहार हप्ता असुली ग्याङको भन्दा फरक देखिएन। निम्न आएका भएका सहरी गरिबमाथि चोक चोकमै अत्याचार भए। धरानमा ती दृश्य देखिएनन्।

साढे तीन वर्ष बालेन दलबाट जितेर आएका उपमेयर अनि वडा सदस्यहरूसँग मिलेर काम गरे। धरानमा हर्कले लफडा गरिरहे।

तर राजीनामा दिएर बिदा हुँदा भने काठमाडौं र धरानको दृश्य ठ्याक्कै उल्टो देखियो।

साढे तीन वर्ष मिलेर काम गरेका बालेनले महानगरको कार्यालयमा गएर धन्यवादसम्म दिएनन्। कार्यपालिका मार्फत वडाध्यक्षसहितसँग हार्दिक रूपमा बिदाइ हुन सक्थे, तर विधायिका लागि कुरेर बसेका उपमेयर र कर्मचारीको पुरै बेवास्ता गरे। राजीनामा पठाए अनि सिधै घन्टीघरतिर लागे।

सामान्य र्यापरलाई नेपाली राजनीतिमा विद्रोह लायक र साढे तीन वर्षमै भावी प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने राजनीतिक हैसियत काठमाडौं महानगरवासीले निर्माण गरिदिएका हुन्। ठुला दलले नपत्याउँदा यहाँका मतदाताले पत्याए।विश्वास गरे। मेयरको कार्यकाल बिचैमा छाड्नु एक खालको धोका पनि त हो।

तर बालेनले आफूलाई विश्वास गरेकोमा न काठमाडौँवासीलाई धन्यवाद दिए न मेयरको कार्यकाल बिचैमा छाड्नुको कारण खुलाएर माफी नै मागे।

निर्वाचन क्षेत्र बदलेपछिको उम्मेदवारको जस्तै व्यवहार गरे उनले। उनले बिर्सिए कुनै एक क्षेत्रको सांसद हैन उनी प्रधानमन्त्री बन्ने सपना लिएर रास्वपा गएका हुन्। त्यो सपना पुरा गर्न झापा-५ को मात्र हैन काठमाडौंका मतदाताको पनि मत चाहिन्छ।

उता साढे तीन वर्ष झगडा गरे पनि राजीनामा दिन हर्क कार्यपालिका बैठकमा उपस्थित भए। सबैलाई धन्यवाद दिए। परिस्थिति बदलिएकाले आफूले बिचैमा राजीनामा दिनु परेकोमा माफी मागे अनि फरक भूमिकामा जान लागे पनि धरानवासीको सेवामा सधैँ तयार रहने बताए। खादा लगाए, बिदाइ उपहार लिए अनि खुसी साथ बिदा भए।

यता काठमाडौंमा बिदाइ गर्न बसेका उपमेयरसहितको बेवास्ता गरेर बालेन हिँडेपछि उपमेयर सुनिता डङ्गोलसहितले राजनीतिक संस्कार कायम राखे। बालेनहिन कार्यपालिकाको बैठक राखेर मेयरको रूपमा गरेको कामका लागि धन्यवाद प्रस्ताव पास गरिन् अनि उनको भावी यात्राको सफलताको कामना गरिन्।

माघ ५, २०८२ सोमबार ०२:५९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।