महिला टी-२० विश्वकप ग्लोबल छनोट : थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

महिला टी-२० विश्वकप ग्लोबल छनोट : थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं : आइसिसी महिला टी-२० विश्वकपका लागि अन्तिम चार टोलीको टुङ्गो लगाउन आइतबारदेखि काठमाडौंमा 'ग्लोबल क्वालिफायर' सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालले बलियो प्रतिद्वन्द्वी थाइल्यान्डको सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा थाइल्यान्डकी कप्तान नारुइमोल चाइवाईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी छन्। जसअनुसार नेपालले घरेलु मैदानमा पहिले ब्याटिङको निम्तो पाएको छ।

नेपालमा आयोजना भइरहेको यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो आइसिसी प्रतियोगिता हो। इङ्ग्ल्यान्ड र वेल्समा हुने सन् २०२६ को महिला टी-२० विश्वकपमा स्थान बनाउने उद्देश्यका साथ १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालका लागि थाइल्यान्ड कठिन प्रतिद्वन्द्वी मानिन्छ। हालसम्म भएका सात वटा अन्तर्राष्ट्रिय खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्न सकेको छैन। सन् २०११ यताका सबै खेल थाइल्यान्डले जितेको तथ्याङ्क छ। तर, थाइल्यान्डकै पूर्व प्रशिक्षक हर्षल पाठकको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोली आज उक्त इतिहास बदल्ने योजनामा छ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ थाइल्यान्डसँगै नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बावे रहेका छन्। समूह ‘ए’ मा टेस्ट राष्ट्रहरू बंगलादेश र आयरल्यान्डसहित पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन्।

प्रतियोगिताको नियमानुसार दुवै समूहका शीर्ष तीन-तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सको समाप्तिपछि शीर्ष चारमा रहने टोलीले सिधै विश्वकपको टिकट सुरक्षित गर्नेछन्।

नेपाली टोली (प्लेइङ ११):

इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ (विकेटकिपर), कविता जोशी, कविता कुँवर, सोमु विष्ट र राजमती ऐरी।

माघ ४, २०८२ आइतबार ०९:४४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।