देशभर पश्चिमी वायुको प्रभाव, काठमाडौंमा बढ्यो चिसो
काठमाडौं : नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आइतबार देशका केही भूभागको मौसममा बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। यसबाहेक मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा तुवाँलो र हुस्सु लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आइतबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका जिल्लाहरूमा भने दिउँसोको समयमा पनि हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
महाशाखाले विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा हुनसक्ने प्रक्षेपण गरेको छ। आइतबार राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र तराईका केही स्थानमा हुस्सु कायमै रहने जनाइएको छ।
काठमाडौंमा बढ्यो चिसो
काठमाडौं उपत्यकामा बिहानको समयमा चिसो महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको छ।
यो बिहानको प्रारम्भिक मापन मात्र हो। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बिहान ८:४५ बजे पुनः मापन गरिने र सोही तथ्यांकलाई आइतबारको आधिकारिक न्यूनतम तापक्रम मानिनेछ। महाशाखाका अनुसार ८ बजेको मापनमा तापक्रम अहिलेको भन्दा केही घट्ने सम्भावना रहन्छ।
तुलनात्मक रूपमा हेर्दा, हिजो (शनिबार) काठमाडौंको प्रारम्भिक मापन ४.९ डिग्री सेल्सियस थियो भने आधिकारिक न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस कायम भएको थियो।
माघ ४, २०८२ आइतबार ०७:३९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।