राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि, सिंहदरबारमा हुनेछ बैठक

राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि, सिंहदरबारमा हुनेछ बैठक

काठमाडौं : राष्ट्रियसभाको १९ औँ अधिवेशन माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ।

अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए। अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै मृत्यु भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए। गत भदौ ३१ गते राष्ट्रियसभाको १८ औँ अधिवेशन अन्त्य भएको थियो।

यसैबिच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी गरेको छ। राष्ट्रियसभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ।

माघ ३, २०८२ शनिबार २२:४९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।