धमाधम उम्मेदवार टुङ्ग्याउँदै नेकपा : प्रचण्ड रुकुम-पूर्व, बामदेव बर्दिया र भीम रावल अछाममा उम्मेदवार

धमाधम उम्मेदवार टुङ्ग्याउँदै नेकपा : प्रचण्ड रुकुम-पूर्व, बामदेव बर्दिया र भीम रावल अछाममा उम्मेदवार

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार छनोटलाई तीव्र बनाएको छ। विभिन्न वामपन्थी घटकहरूको एकता र समायोजनपछि बनेको नेकपाले सुदूरपश्चिमका सबै १६ निर्वाचन क्षेत्रसहित देशका प्रमुख क्षेत्रहरूमा उम्मेदवारको टुङ्गो लगाएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले शनिवार उम्मेदवारहरूलाई चुनावी कमान्ड सम्हाल्न टिकट हस्तान्तरण गरे। 

प्रस्तावित उम्मेदवारहरूमा साबिक नेकपा माओवादी केन्द्रको बाहुल्यता देखिएको छ। सुदूरपश्चिमको सूचीमा माओवादीबाट १०, एकीकृत समाजवादीबाट ३, नागरिक उन्मुक्तिबाट १, मातृभूमि जागरणबाट १ र एमाले परित्याग गरेका १ जना परेका छन्। लुम्बिनीमा भने करिब २ दर्जन दलहरू समायोजन भएकाले पहिलेभन्दा बढी क्षेत्र जित्ने नेकपाको दाबी छ।

यसपटक टिकट नपाउनेहरूमा माओवादीका पूर्वकेन्द्रीय सचिव चन्द्रप्रकाश खनाल ‘बलदेव’, पूर्व सभामुख ओनसरी घर्ती, र पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी रहेका छन्। नेकपाले सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू उतार्ने निर्णय गर्दै एमाले परित्याग गरी नेकपामा आएका वरिष्ठ नेता भीम रावल अछाम निर्वाचन क्षेत्र नं. १ बाटै उम्मेदवार बन्ने भएका छन्।

कैलाली: क्षेत्र १ मा टिकापुरका मेयर रामलाल डगौरा थारु, २ मा राजेन्द्र साउँद, ३ मा विरमान चौधरी, ४ मा हरि चौधरी र ५ मा पूर्वमन्त्री प्रेमबहादुर आलेले टिकट पाएका छन्।

कञ्चनपुर: १ मा विना मगर, २ मा लालबहादुर खड्का र ३ मा मानबहादुर सुनार, बैतडीमा परमानन्द भट्ट, डोटीमा त्रिलोचन भट्ट, डडेलधुरामा मानसिंह माल र बाजुरामा प्रकाश शाहले टिकट पाएका छन्।

लुम्बिनीमा शीर्ष नेताहरूको मोर्चाबन्दी

लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा नेकपाले नाम टुङ्ग्याएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' पहिलोपटक रुकुम-पूर्वबाट उम्मेदवार बन्ने भएका छन्। उनी काठमाडौँबाट चितवनहुँदै गोर्खा पुगेका थिए। आफ्नो निर्वाचन क्षेत्र असुरक्षित देखेपछि उनी रुकुम लागेका हुन्। 

बर्दिया: क्षेत्र नं. १ बाट वरिष्ठ नेता बामदेव गौतम उम्मेदवार बन्ने तयारी छ। यसका लागि उनले राष्ट्रिय सभाबाट राजीनामा दिनु पर्नेछ। रोल्पाबाट वर्षमान पुन, गुल्मी: क्षेत्र १ मा सुदर्शन बराल र २ मा बुद्धि जिसीको नाम फाइनल भएको छ।

पाल्पामा क्षेत्र १ मा होम सुनारी र २ मा सोमप्रसाद पाण्डेले टिकट पाएका छन्। पश्चिम नवलपरासी: क्षेत्र १ मा सिन्धु जलेसा र २ मा देवेन्द्र पौडेल, रुपन्देही  क्षेत्र ३ मा फैजअहमद खान, ४ मा बाबुलाल यादव र ५ मा वकिल मुसलमानले टिकट पाएका छन्।

कोशी र बागमती: ओलीसँग रञ्जित तामाङको टक्कर

कोशी प्रदेशका ९ क्षेत्रमा उम्मेदवार टुङ्गो लागेको छ। सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न नेकपाले युवा नेता रञ्जित तामाङलाई मैदानमा उतारेको छ। झापा १ मा इन्जिनियर अशेष घिमिरेले टिकट पाएका छन्। भोजपुरमा अजम्बर राई काङमाङ, मोरङ  ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ३ मा डा. देउमान सम्बाहाम्फेले टिकट पाएको छ।

चितवन ३ मा  रेणु दाहाल, काभ्रे १ मा दिनानाथ गौतम र २ मा वसुन्धरा हुमागाईँ, दोलखाबाट विशाल खड्का र जुम्लाबाट नरेश भण्डारीले टिकट पाएका छन्।

माघ ३, २०८२ शनिबार २२:११:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।