१० करोडको लगानीमा म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो
काठमाडौं : म्युजिक नेपालले १० करोड रुपैयाँको लगानीमा डल्बी एट्मस प्रमाणित अत्याधुनिक पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ। काठमाडौंको पिंगलास्थानमा निर्मित ‘म्युजिक नेपाल अडियो भिजुअल’ स्टुडियोको शुक्रवार सुरुवात गरियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्माले संयुक्त रूपमा स्टुडियोको सुरुवात गरेका थिए।
यो स्टुडियो दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना भएको दाबी गरिएको छ। यसको मुख्य विशेषता ३२.१ डल्बी एट्मस कन्फिगरेसन रहेको र यसले ३२ वटा विभिन्न च्यानलमार्फत 'थ्री-डी' ध्वनि प्रभाव दिने म्युजिक नेपालले जानकारी दिएको छ।
बलिउडका दिग्गज साउन्ड इन्जिनियर दमन सुद, डल्बी भारतका निर्देशक समीर सेठ र वरिष्ठ इन्जिनियर भरत रेड्डीको प्रत्यक्ष संलग्नतामा यो सेटअप तयार गरिएको कम्पनीले जानकारी दिएको छ।
नेपाली फिल्मको प्राविधिक पक्ष सुधार्न प्रोत्साहन स्वरूप म्युजिक नेपालले पहिलो ३ ग्राहकलाई ५० प्रतिशत छुट र जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।
माघ ३, २०८२ शनिबार २१:३७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।