आधिकारिकता नपाएपछि देउवा पक्षले निकाल्यो मसाल जुलुस
काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको समितिलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेको शेरबहादुर देउवा पक्ष सडक उत्रिएको छ। आयोगको निर्णयको विरोध गर्दै शनिबार साँझ देउवा पक्षीय युवाहरूले राजधानीको त्रि-चन्द्र क्याम्पस अगाडि मसाल जुलुस निकालेको छ।
देउवा पक्षीय नेविसंघ र नेपाल तरुण दलका कार्यकर्ताहरूले निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेको भन्दै विरोध जनाए। प्रदर्शनकारीहरूले हातमा मसाल बोकेर आयोगविरुद्ध नाराबाजी गरेका थिए।
आयोगले कांग्रेसको 'विशेष महाधिवेशन' बाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पार्टीको आधिकारिक नेतृत्वको रूपमा वैधानिकता दिएको थियो। आयोगको उक्त निर्णयपछि देउवा पक्ष रुष्ट बनेको छ। देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले आयोगले विधि र विधान विपरीत निर्णय गरेको आरोप लगाएका छन्।
शुक्रबार नै देउवा पक्षले आयोगको निर्णयविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको थियो। आयोगले आधिकारिकता दिनु अघि कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए। आयोगको निर्णयले कांग्रेसभित्रको शक्ति संघर्षलाई नयाँ मोडमा पुर्याएको छ।
माघ ३, २०८२ शनिबार २०:३३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।