कर्णालीमा नेकपा संसदीय दलको नेतामा शाही चयन
सुर्खेत : नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन भएका छन्। सुर्खेतमा शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई बहुमतको आधारमा दलको नेता चयन गरेको हो।
नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास असफल भएपछि ध्वनि मतको प्रक्रिया अपनाइएको थियो। दलको नेतामा शाहीसँगै प्रदेशसभा सदस्यहरू विन्दमान विष्ट र दुर्गाबहादुर रावतको दाबी थियो। यसअघि शुक्रबारको बैठकमा रणसिंह परियार र कृष्णबहादुर जिसीले पनि दलको नेतामा दाबी गरेका थिए।
तर, शनिबारको छलफलमा सहमतिको वातावरण निर्माण गर्न परियार र जिसीले आफ्नो दाबी फिर्ता लिएका थिए। बाँकी तीन उम्मेदवारबिच खिचातानी बढेपछि अन्ततः ध्वनि मतमार्फत नेतृत्वको टुङ्गो लगाइएको हो।
तत्कालीन संसदीय दलका नेता राजकुमार शर्माले गत मंसिर १७ गते पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। उनी दलको नेता र पार्टीबाट अलग भई जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएसँगै कर्णालीमा नयाँ नेता चयनको प्रक्रिया सुरु भएको थियो।
माघ ३, २०८२ शनिबार १८:५६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।