पार्टी छाडेका र निष्क्रिय रहेकालाई फर्कन कांग्रेसको आह्वान
काठमाडौं : नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीबाट अलग भएका तथा लामो समयदेखि निष्क्रिय रहेका नेता कार्यकर्ताहरूलाई पुनः पार्टीको मूलधारमा फर्कन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठकले पार्टी रूपान्तरण प्रक्रियामा जोडिन आह्वान गरेको हो।
बैठकले पार्टीलाई थप सुदृढ र रूपान्तरण गर्न पुराना तथा बाहिरिएका सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य रहेको आवश्यकता औँल्याएको छ। निर्वाचन आयोगले पार्टीको विधान र प्रक्रियालाई अद्यावधिक गरेको विषयलाई कांग्रेसले कुनै पक्षको जित-हार नभई 'लोकतन्त्र र विधानको विजय' का रूपमा व्याख्या गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले वर्तमान समय एकता र सहकार्यको भएको बताए। बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, “समय एकता, सद्भाव र सहकार्यको समय हो। देश-विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समितिहरू र सबै भातृ तथा शुभेच्छुक संस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ।”
बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्ने निर्णय समेत गरेको छ। यसैगरी बैठकले अबदेखि कुनै पनि दलसँग 'अप्राकृतिक गठबन्धन' वा केवल 'सत्ता केन्द्रित सम्झौता' नगर्ने निर्णय गरेको छ।
माघ ३, २०८२ शनिबार १७:५३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।