जीवी-रविको कालोधनको अनुसन्धान रोक्ने निर्णयको विरोधमा प्रदर्शन, निर्णय नसच्याए देशभर आन्दोलन गर्ने युवा संघको चेतावनी
काठमाडौं : १६ भन्दा बढी कम्पनीमार्फत ५ पाँच वटा सहकारीमा रहेको पाँच अर्ब बढी रकम अपचलनमा संलग्न देखिएर फरार रहेका जीवी राईसहित एक सय ५१ जनामाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध राष्ट्रिय युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिन नमिलेपछि चोर बाटोबाट अभियोग पत्र सच्याउने भन्दै महान्यायाधिवक्ता सविता भण्डारीले शुक्रवार अन्य एक सय ५१ जनामाथिको अभियोग पत्र समेत सच्याउने निर्णय गरेकी थिइन्। यसरी अभियोग पत्र सच्याउँदा सहकारीको बचतकर्ताको रकम आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको र क्रिप्टो करेन्सी र हुन्डी गरेर नेपालबाट बाहिर लगेका जीवी राई, उनको मुख्य सहयोगी कुमार रम्तेलसहितका अभियुक्तको समेत अभियोग पत्र सच्चिने छ।
सहकारी ठगीको अभियोगमा पोखरामा अभियोग पत्र दायर भए लगत्तै नेपालबाट भागेका जीवी त्यसयता नेपाल फर्किएका छैनन्। उनी मलेसियामा रहेको प्रहरी अनुसन्धानमा खुले पनि सुपुर्दगी कानुनको अभावमा नेपाल ल्याउन सकिएको छैन। जीवीलाई नेपाल ल्याउने प्रक्रिया इन्टरपोलहुँदै कायमै रहेको बेलामा सुशासनका लागि बनेको जेनजी सरकारले सबैको महत्वपूर्ण अभियोग नै सच्याउने निर्णय गरेको हो।
सो निर्णयबारे जेनजी फ्रन्ट नेपालसहित नेपाल बार एसोसिएसनले समेत विरोध गरिसकेको छ। शनिवार सो निर्णयले कानुनी शासन र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको भन्दै तत्काल पुनरावलोकनको माग सहित विरोध प्रदर्शन गर्यो। उनीहरूले न्यायमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने माग समेत गरेका थिए।
प्रदर्शनकारीहरूले 'दलालको राज भो, देशमा अति लाज भो', 'जनतालाई लाज भो, सहकारी ठगको राज भो,' लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर विरोध गरेका थिए। उनीहरूले विवादित निर्णय तत्काल खारेज गरी निष्पक्ष र पारदर्शी ढंगले न्यायिक प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्। उनीहरूले निर्णय नसच्चिए देशभर आन्दोलनको चेतावनी दिएको छ।
महान्यायाधिवक्ता सविताको यो तेस्रो विवादित निर्णय हो। यस अगाडि उनले महान्यायाधिवक्ता रूपमा डिम्ब तस्करीमा जोडिएको आफ्नै कम्पनी विरुद्धको अभियोग अनुसार मुद्दा नचलाउने र १३ वर्षीया बालिकाको बलात्कारमा जिल्लाले दोषी ठहर गरेको तर उच्चबाट सफाइ पाएका व्यापारीविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरेकी थिइन्।
उनले बुधवार रविविरुद्धको अभियोग पत्र मात्र सच्याउने निर्णय गरेकोमा शुक्रवार जीवीसहित अन्य एक सय ५१ अभियुक्तकै अभियोग पत्र सच्याउने निर्णय गरेकी थिइन्।
माघ ३, २०८२ शनिबार १७:३८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।