खाजा घरभित्र १३ वर्षीया ‘रमा’को मोलमोलाई; साहुनी भन्थिन्- ‘एक जनासँग बसे ५ सय दिन्छु’

खाजा घरभित्र १३ वर्षीया ‘रमा’को मोलमोलाई; साहुनी भन्थिन्- ‘एक जनासँग बसे ५ सय दिन्छु’

काठमाडौं : घरको आर्थिक अवस्था नाजुक थियो। बाबुको रक्सीको लत र आमामाथिको कुटपिटले घरमा शान्ति थिएन। आमाले काठमाडौंको सडकपेटीमा ‘चटपटे’ बेचेर जसोतसो परिवार पालिरहेकै थिइन्।

गरिबीकै कारण १३ वर्षको कलिलो उमेरमै स्कुलको झोला बिसाउन बाध्य भएकी थिइन्- रमा (परिवर्तित नाम)। आमाको दुःख देख्न नसकेपछि उनले पनि काम गरेर सघाउने निधो गरिन्। त्यही निधो नै रमामाथिको यौन दुर्व्यवहारको कारक बन्यो।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८, जम्बुडाँडास्थित ‘गफगाफ खाजा घर’। नामजस्तै त्यहाँ बाहिरबाट हेर्दा चिया-खाजाको गफगाफ चल्थ्यो। तर, भित्र भने १३ वर्षीया रमाको चित्कार गुन्जिरहन्थ्यो, जुन बाहिर कसैले सुन्दैनथे।

भान्छाको काम, कोठाको धन्दा
‘खाजा घरमा किचेन र सरसफाइको काम गर्ने हो, महिनाको १० हजार तलब दिन्छु, राम्रो गर्यौ भने १३ हजारसम्म हुन्छ।’

खाजा घरकी सञ्चालिका ४८ वर्षीया सीता पुरीले दिएको यो आश्वासन रमा र उनकी आमाका लागि ठूलो भरोसा थियो। २०८१ सालको असार महिनामा त्यही भरोसा बोकेर खाजा घर छिरेकी थिइन् उनी। सुरुको एक साता त सबै ठीकठाक चल्यो। भाँडा माझ्ने र सरसफाइ गर्ने काम भयो।

तर, विस्तारै सञ्चालिका पुरीको असली रूप बाहिर आउन थाल्यो।

खाजा खान आउने ग्राहकहरू देखेपछि सञ्चालिका पुरीले रमालाई बोलाउँथिन्। ग्राहकसँग ‘डिल’ गर्थिन्। अनि सुटुक्क रमाको हातमा कण्डम थमाइदिँदै भन्थिन्- ‘जा, त्यो कोठामा गएर बस्।’

रमाले प्रतिवाद नगरेकी होइनन्। ‘म यस्तो काम गर्दिनँ’ भन्दै रोइकराइ गर्दा पुरीले उल्टै धम्की दिन्थिन्। ‘तेरो घरका आफन्त र साथीभाइ सबैलाई भन्दिन्छु’, भन्दै गालीगलौज र डरत्रास देखाउन थालिन्।

पाँच सयको लोभ र अबोध शरीरको व्यापार
सञ्चालिका पुरीले रमाको शरीरलाई पैसा कमाउने मेसिन बनाइन्। जिल्ला अदालतमा दायर भएको मुद्दाको अभियोग पत्रअनुसार, पुरीले रमालाई लोभ देखाउँदै भन्ने गर्थिन्, ‘एक जना ग्राहकसँग सुतिस् भने तँलाई ५ सयदेखि १ हजार रुपैयाँ दिन्छु।’

कलिलो उमेर, गरिबीको बाध्यता र सञ्चालिकाको धम्कीका अगाडि रमा निरीह बनिन्। उनलाई राति पनि घर जान दिइएन, खाजा घरमै बन्धकजस्तै बनाएर राखियो।

दिनमा ५ देखि ६ जनासम्म ग्राहकसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारियो। ग्राहकले तिरेको मोटो रकम सञ्चालिका आफैँ राख्थिन्, रमालाई भने कहिलेकाहीँ ५ सय वा १ हजारको लोभ देखाइन्थ्यो।

शोषणको शृङ्खला कतिसम्म दर्दनाक थियो भने, ४-५ महिना अगाडि एक ग्राहकसँग जबरजस्ती सम्बन्ध राख्न लगाउँदा कण्डम फुट्यो। रमा आत्तिइन्। गर्भ रहने डरले उनी थरथर कापिन्।

तर, सञ्चालिका पुरीलाई रमाको स्वास्थ्यको भन्दा आफ्नो धन्दाको चिन्ता थियो। उनले तुरुन्तै ‘२४ घण्टे पिल्स’ (गर्भनिरोधक चक्की) मगाएर रमालाई खान लगाइन् र फेरि काममा जोताइन्।

‘नरक’ बाट भागेर फेरि ‘नरक’ मै
निरन्तरको शोषण सहन नसकेपछि २०८२ वैशाखमा रमा खाजा घरबाट भागेर जडिबुटीस्थित साथीको कोठामा गइन्। तर, गरिबीले लखेट्न छोडेको थिएन। त्यही मौकामा सञ्चालिका पुरीले फेरि फोन गरिन्।

‘अबदेखि नराम्रो काम लगाउँदिन। आइज, भान्छाकै काम गर्ने हो’, पुरीले गुलियो वचनमा फकाइन्।

रमाको बालमस्तिष्कले सञ्चालिकाको षड्यन्त्र बुझ्न सकेन। असार २७ गते उनी पुनः त्यही खाजा घरमा फर्किन्। तर, पुरीको बाचा पानीको फोका साबित भयो। खाजा घरमा टेक्नासाथ फेरि पुरानै नियति दोहोरियो। ग्राहक आउनासाथ काउन्टरमा पैसा बुझाउने र रमालाई कोठामा पठाउने क्रम चलिरह्यो।

यता चटपटे बेचेर गुजारा चलाउने आमालाई छोरीले सरसफाइको काम गरेर पैसा कमाउँदै छिन् भन्ने भ्रम थियो। सञ्चालिका पुरीले चलाखीपूर्ण रूपमा रमाकी आमालाई कहिलेकाहीँ ७/८ हजार रुपैयाँ तलब बापत भन्दै दिने गरेकी थिइन्। छोरी सञ्चालिकासँगै बस्ने भएकाले आमाले छोरीको पीडा थाहा पाइनन्।

गोप्य सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली २०८२ पुस २ गते जम्बुडाँडास्थित खाजा घरमा पुग्दा रमाको अवस्था दयनीय थियो। प्रहरीले उनलाई उद्धार गर्यो। उद्धारपछि मात्रै रमाले आफूमाथि भएको क्रूर शोषणको नालिबेली खोलिन्। स्वास्थ्य परीक्षणमा समेत उनलाई लामो समयदेखि यौन शोषण गरिएको पुष्टि भयो।

अहिले खाजा घरकी सञ्चालिका सीता पुरी कानुनको फन्दामा छिन्। सरकारी वकिल कार्यालयले उनीविरुद्ध १० देखि १५ वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवानाको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

माघ ३, २०८२ शनिबार १५:१८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।