डा. अभिनेषको उपचार अनुभव : पेट दुखेको भ्रमले एक महिना अस्पताल बसेकी बज्यैलाई उल्टै एक लाख दिएर घर पठाइयो
सेतो कोट लगाएर अस्पतालमा काम गरिरहँदा चिकित्सकले केवल रोग मात्र हेरिरहेको हुँदैन; ऊ त समाजको आर्थिक, सामाजिक र मनोवैज्ञानिक अवस्थाको पनि साक्षी बनिरहेको हुन्छ।
अस्पतालको शय्यामा छटपटाइरहेका बिरामीहरूको पीडा, आर्थिक अभावले निसास्सिएका आफन्तको आँसु र कहिलेकाहीँ सम्पन्नताको आडमा हुने महँगो उपचार- यी सबै परिदृश्यहरूको बीचमा उभिएका हुन्छन्, डा. अभिनेष कुमार झा।
एक युवा फिजिसियनका रूपमा डा. अभिनेषले छोटो समयमै धेरै कुरा देखे, भोगे र अनुभव गरे। देशको जेठो अस्पताल वीर अस्पतालको कोलाहलपूर्ण वार्डदेखि मधेशको सर्लाहीस्थित लालबन्दी नगर अस्पतालको शान्त तर चुनौतीपूर्ण परिवेशसम्म आइपुग्दा उनका अनुभवका पानाहरू निकै गहकिला बनिसकेका छन्।
कहिले बिरामीको उपचार गर्न आफैँ चन्दा उठाउनुपर्ने बाध्यता त कहिले हेलिकप्टर चार्टर गरेर बिरामी रिफर गर्दा ‘कतै मेरो निर्णय गलत त भएन?’ भनी मुटु कमाउनुपर्ने अवस्था- डा. अभिनेषको चिकित्सकीय जीवनका यी रमाइला र मार्मिक आयामहरू हुन्। उनले यिनै अनुभवहरू उकेरासँग साटेका छन्:
पेट दुखेको भ्रम र ७० वर्षे बज्यैको त्यो आँसु
वीर अस्पतालमा एमडी अध्ययनरत छँदाको एउटा घटना डा. अभिनेषको मानसपटलमा आज पनि ताजै छ।
घटना केही वर्ष अघिको हो। डोल्पाको विकट बस्तीबाट करिब ७० वर्षकी एक वृद्धा आमा उपचारको आश बोकेर काठमाडौं आइपुगेकी थिइन्। पेट दुख्यो भन्दै अस्पतालको शय्यामा उनी छटपटाइरहेकी हुन्थिन। ‘ऐया, मलाई मार्यो’ भन्दै उनको फत्र्याक-फत्र्याक हुने अवस्था देख्दा जो कोहीको मन पग्लिन्थ्यो।
गाउँलेहरूले चन्दा उठाएर काठमाडौंसम्म पठाएका ती बज्यैको साथमा अलि टाढाको नाता पर्ने एक कुरुवा थिए। तर, विडम्बना! उनीहरूसँग उपचार त परै जाओस्, दुई छाक खान पुग्ने पैसा पनि थिएन।
बिरामीको नाजुक अवस्था देखेर डा. अभिनेष र उनको टिमले अस्पताल प्रशासनसँग समन्वय गरी सम्पूर्ण स्वास्थ्य जाँच र औषधोपचार निःशुल्क गराउने बन्दोबस्त मिलाए। रगत जाँच, एक्स-रे, भिडियो एक्स-रे देखि सम्भावित सबै परीक्षणहरू गरियो।

डाक्टरहरूको टोलीले कुनै कसर बाँकी राखेन। एक महिनासम्म अस्पतालमा भर्ना गरेर सुक्ष्म निगरानीमा राखियो। तर, अचम्मको कुरा- जति नै जाँचपड्ताल गरे पनि बज्यैको पेटमा कुनै खराबी देखिएन। रिपोर्टहरू सबै ‘नर्मल’ आउँथे, तर बज्यैको दुखाइ कम हुँदैन थियो।
अन्ततः लामो प्रयास र निगरानीपछि चिकित्सकहरू एउटा निष्कर्षमा पुगे- बज्यैलाई शारीरिक रोग भन्दा पनि मानसिक समस्या वा भ्रमले सताएको हुन सक्छ।
सायद, गरिबी, एक्लोपन वा बुढ्यौलीको तनावले उनलाई ‘पेट दुखेको’ महसुस गराइरहेको थियो। समस्याको जरो पत्ता लागेपछि चिकित्सकहरूले उनलाई मानसिक परामर्श दिए। बिस्तारै उनको समस्या कम हुँदै गयो। अब पालो थियो डिस्चार्जको।
तर, यहाँ अर्को धर्मसंकट आइलाग्यो। रोग निको भए पनि बज्यैसँग घर फर्कने बाटो खर्च थिएन। डोल्पा जस्तो दुर्गम ठाउँमा जान थोरै पैसाले पुग्दैन थियो।
‘म कसरी घर जाउँ बाबु?’ भन्दै बज्यैका आँखा रसाएपछि उपचार गरेर निको पार्ने तिनै चिकित्सकहरूका अगाडि नयाँ चुनौती खडा भयो। वीर अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूले बिरामीको पीडालाई आफ्नै ठाने। सुरु भयो अस्पतालभित्रै चन्दा अभियान।
डा. अभिनेष सम्झन्छन्, ‘हामी सबैले मिलेर करिब एक लाख रुपैयाँ चन्दा उठायौं। उपचार निःशुल्क भइसकेको थियो, त्यो रकम उहाँलाई घर जान र बाटोमा खानका लागि दिएर पठायौं।’
निको भएर, हातमा पैसा लिएर आँखाभरि खुसीका आँसु पार्दै ती बज्यैले दिएको आशीर्वाद डा. अभिनेषका लागि कुनै ठूलो पदकभन्दा कम थिएन।
हेलिकप्टर उड्दा मुटुको ढुकढुकी बढेको त्यो दिन
वीरको त्यो गरिबीको कथाबाट अब लागौं सर्लाहीको लालबन्दीतर्फ। जहाँ अलि सम्पन्न परिवारको उपचारको अर्को रोचक प्रसंग जोडिएको छ।
एमडी सकेर डा. अभिनेष छात्रवृत्ति करार सेवाका लागि लालबन्दी नगर अस्पताल पुगेका थिए। अस्पतालमा हाजिर भएको दुई दिन मात्र भएको थियो। नयाँ ठाउँ, नयाँ परिवेश र सीमित स्रोतसाधन।
त्यही बेला करिब ३५ वर्षका एक युवा पेट दुखेर हस्याङफस्याङ गर्दै अस्पतालको आकस्मिक कक्षमा आइपुगे। उनलाई दिसा नहुने, पेट असाध्यै दुख्ने र बान्ता हुने जस्ता लक्षणहरू थिए।
डा. अभिनेषले तत्काल उनको स्वास्थ्य परीक्षण गरे। लक्षणहरू गम्भीर थिए। उनले तुरुन्तै एक्स-रे गराए। एक्स-रेको फिल्म उज्यालोमा राखेर हेर्दा डा. अभिनेष झस्किए। आन्द्रामा प्वाल परेको जस्तो स्पष्ट सङ्केत देखियो।
यो अवस्था सामान्य थिएन। आन्द्रा फुटेको अवस्थामा तत्काल शल्यक्रिया नगरे बिरामीको ज्यान जान सक्थ्यो। लालबन्दी नगर अस्पतालमा त्यस्तो जटिल शल्यक्रिया सम्भव थिएन।

डा. अभिनेषले बिरामीका आफन्तलाई अवस्थाको गम्भीरता बुझाउँदै भने, ‘उहाँको आन्द्रामा प्वाल परेको जस्तो देखिएको छ, यहाँ उपचार सम्भव छैन, तुरुन्तै काठमाडौं लैजानुपर्छ।’
बिरामीका परिवार आर्थिक रूपमा सम्पन्न रहेछन्। डाक्टरको सुझावलाई शिरोपर गर्दै उनीहरूले तत्कालै हेलिकप्टरको व्यवस्था गरे। केही बेरमै अस्पताल प्राङ्गणमा हेलिकप्टर आयो र बिरामीलाई काठमाडौं उडायो।
बिरामी आकाशमा उडेपछि यता जमिनमा रहेका डा. अभिनेषको मन भने डरले काप्न थाल्यो। भर्खर दुई दिन भएको छ काम थालेको, यदि काठमाडौं पुगेपछि जाँच गर्दा आन्द्रा फुटेको देखिएन भने? सामान्य ग्यास्ट्रिक वा अन्य कारणले पेट दुखेको रहेछ भने?
बिरामीको लाखौं खर्च भयो, हेलिकप्टर चार्टर भयो। यदि आफ्नो ‘डायग्नोसिस’ गलत भयो भने त इज्जत नै जान्छ, गाली खाइन्छ।
‘बिरामी हेलिकप्टर चढेर गएपछि मेरो मुटु बेस्सरी ढुकढुक भयो,’ डा. अभिनेष त्यो क्षण सम्झन्छन्, ‘कतै मैले गलत त गरिनँ भन्ने प्रश्नले मलाई सताइरह्यो।’
तर, चिकित्सकको अध्ययन र अनुभवले धोका दिएको थिएन। बिरामीलाई काठमाडौंको अस्पतालमा पुर्याइयो। त्यहाँको विशेषज्ञ टोलीले जाँच गर्दा डा. अभिनेषले जे शंका गरेका थिए, ठ्याक्कै त्यही पुष्टि भयो। युवाको आन्द्रा फुटेकै रहेछ। चिकित्सकहरूले ढिला नगरी शल्यक्रिया गरे। शल्यक्रिया सफल भयो र ती युवाले नयाँ जीवन पाए।
पछि ती युवाले डा. अभिनेषलाई सन्देश पठाएर भने, ‘डाक्टर साब, हजुरले समयमै सही सल्लाह नदिएको भए मेरो ज्यान जाने रहेछ। हजुरलाई धेरै धन्यवाद।’
त्यो सन्देश पढ्दा डा. अभिनेषले लामो सास फेरे। त्यो दिन उनले महसुस गरे- सही समयमा लिइएको सही निर्णयले कसरी मानिसको ज्यान बचाउन सक्छ।
७२ वर्षे बाजेको पुनर्जन्म
रोग पत्ता लगाउनु र सही समयमा सही ठाउँमा पठाउनु पनि उपचारको एउटा महत्त्वपूर्ण पाटो हो भन्ने कुरा डा. अभिनेषको अर्को अनुभवले पनि पुष्टि गर्छ। लालबन्दीमै काम गर्दाको अर्को घटना हो यो।
एक दिन ७२ वर्षका वृद्ध बाजे देब्रे छाती दुखेर श्वास फेर्न गाह्रो भयो भन्दै अस्पताल आए। गाउँघरमा सामान्यतया यसलाई ‘ग्यास्ट्रिक’ भनेर हेलचेक्र्याइँ गर्ने चलन छ। तर, डा. अभिनेषले जोखिम मोल्न चाहेनन्। उनले तत्काल इसीजी र रगतमा ‘ट्रोपोनीन’को जाँच गराए। अचम्मको कुरा, यी दुवै रिपोर्ट सामान्य (नर्मल) देखिए।
धेरैजसो अवस्थामा इसीजी र ट्रोपोनीन नर्मल आएपछि बिरामीलाई ‘केही छैन’ भनेर घर पठाइन्छ। तर, डा. अभिनेषको चिकित्सकीय दृष्टिले केही गडबड छ भन्ने सङ्केत पाइरहेको थियो।

उनले बाजेको इको जाँच गरे। इको रिपोर्टमा मुटुको चालमा गम्भीर असामान्यता देखियो। उनले एक पल पनि खेर नफाली बिरामीका आफन्तलाई भने, ‘उहाँलाई अहिले नै काठमाडौंको गंगालाल अस्पताल लैजानुस्, अवस्था गम्भीर हुन सक्छ।’
डाक्टरको विश्वास मानेर आफन्तले बाजेलाई काठमाडौं दौडाए। गंगालालमा एन्जियोग्राफी गर्दा थाहा भयो- बाजेको मुटुका तीनवटै मुख्य धमनीहरू पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगिसकेका रहेछन्।
मुटुको चाल नै बन्द हुने सँघारमा थियो। तत्कालै उपचार सुरू भयो र बाजे बाँच्न सफल भए। यदि डा. अभिनेषले इसीजी नर्मल छ भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाएको भए, सायद ती बाजे आज जीवित हुन्थेनन्।
जता जन्म, उतै कर्म: अध्ययन र सङ्घर्षको यात्रा
बिरामीको ज्यान बचाउने यी युवा चिकित्सकको आफ्नै जीवन यात्रा पनि कम प्रेरणादायी छैन। वि.सं. २०५० सालमा महोत्तरीमा जन्मिएका डा. अभिनेषको बाल्यकाल जनकपुरको माटोमा बित्यो। जनकपुरको ‘न्यू इङ्लीस सेकेण्डरी बोर्डिङ स्कुल’ बाट २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी काठमाडौं हानिए।
काठमाडौंको क्यान्भास इन्टरनेसनल कलेजबाट विज्ञान संकायमा प्लस टु सकेपछि उनको मनमा चिकित्सक बन्ने हुटहुटी जाग्यो। तर, सपना देख्नु र पूरा गर्नुमा फरक हुन्छ।
पहिलो पटकको एमबीबीएस प्रवेश परीक्षामा उनी असफल भए। तर, असफलताले मानिसलाई थप बलियो बनाउँछ भन्ने भनाइ उनीमा लागू भयो। उनले हरेस खाएनन्। अठोट र आत्मविश्वासका साथ दोस्रो पटक परीक्षा दिए। नतिजा- उनी सरकारी छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भए।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा २०६९ सालमा भर्ना भई उनले एमबीबीएस यात्रा सुरु गरे। २०७५ मा डाक्टर बनेर निस्किएपछि सरकारी छात्रवृत्तिको सर्त अनुसार दुई वर्ष सेवा गर्नुपर्ने थियो।
धेरैजसो चिकित्सकहरू सुगम खोज्दा, डा. अभिनेषले भने आफ्नै जन्मथलो रोजे। उनी महोत्तरीको पिपरा प्राथमिक स्वास्थ्य केन्द्रमा खटिए। त्यहाँ दुई वर्ष सेवा गर्दा उनले ग्रामीण स्वास्थ्यको दयनीय अवस्था र आवश्यकतालाई नजिकबाट नियाल्ने मौका पाए।
अध्ययनको भोक अझै मेटिएको थिएन। एमबीबीएसपछि एमडी गर्ने सपना थियो। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को प्रवेश परीक्षा दिए। उत्तीर्ण हुँदै २०७८ सालमा सरकारी छात्रवृत्तिमै ‘इन्टरनल मेडिसिन’ पढ्ने अवसर पाए। २०८२ को जेठमा एमडी सकेपछि फेरि उनीसामु प्रश्न थियो- अब कहाँ जाने?

शहरको सेवा सुविधा र निजी अस्पतालको आकर्षक प्रस्तावलाई पन्छाउँदै उनी पुनः तराई नै झरे। ‘जता जन्म, उतै कर्म’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै उनी अहिले सर्लाहीको लालबन्दी नगर अस्पतालमा विशेषज्ञ सेवा दिइरहेका छन्।
सुगर र प्रेसरको औषधि नै खान नमानेर हैरान
लालबन्दीमा सेवा गर्दा डा. अभिनेषले देखेको अर्को ठूलो चुनौती भनेको बिरामीमा रहेको भ्रम हो। अस्पतालमा उच्च रक्तचाप, मधुमेह, र दमजस्ता दीर्घरोगका बिरामीहरूको घुइँचो लाग्छ। तर, विडम्बना! धेरै बिरामी औषधि खानै मान्दैनन्।
‘डाक्टर साब, एकपटक औषधि खायो भने त जिन्दगीभर खानुपर्छ रे, बानी पर्छ रे, बरु नखाइ बस्छु’, बिरामीहरूको यस्तो जवाफ सुन्दा डा. अभिनेष हैरान हुन्छन्।
औषधि नखाँदा मिर्गौला, मुटु र मस्तिस्कमा पर्न सक्ने असरबारे बुझाउन उनलाई निकै हम्मे पर्छ। अझ कतिपय बिरामी त डाक्टरको सल्लाहभन्दा औषधि पसलेको कुरामा बढी विश्वास गर्छन्।
‘पसले दाइले यो औषधि नखाउ भन्नुभयो’, भन्दै बिरामीले औषधि छोड्दा रोगले जटिल रूप लिएका धेरै उदाहरण उनीसँग छन्।
अहिले डा. अभिनेषको दैनिकी बिरामी जाँच्ने मात्र होइन, उनीहरूलाई सम्झाउने र बुझाउने पनि भएको छ। उनी बिरामीलाई काउन्सिलिङ गर्छन्, औषधि किन खानुपर्छ, यसले कसरी ज्यान बचाउँछ भनेर घण्टौं लगाएर बुझाउँछन्।
मुटुको जाँच गर्ने ‘इको कार्डियोग्राफी’ सम्बन्धी विशेष तालिम लिएका उनी ग्रामीण भेगमा मुटु रोगको प्रारम्भिक पहिचानमा पनि सक्रिय छन्।
माघ ३, २०८२ शनिबार १३:४०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।