पार्टी फुटेको छैन, गगन थापाको नेतृत्वलाई हाँसेर स्वीकारौँ : सुजाता कोइराला
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी नेतृत्वमा आएको परिवर्तनलाई सहज रूपमा स्वीकार गर्नुपर्ने बताएकी छन्।
पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले देश र जनताले परिवर्तन चाहेको भन्दै यसलाई हाँसेर र खुसी भएर अंगाल्नुपर्ने बताएकी हुन्। उनले कांग्रेसमा आएको नेतृत्व परिवर्तनले पार्टी नफुटेको दाबी समेत गरेकी छन्।
नेतृ कोइरालाले नेपाली कांग्रेसको नयाँ सभापतिको रूपमा गगन थापालाई बधाई तथा शुभकामना दिएकी छन्। उनले थापालाई बीपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाले बनाएको संगठनलाई नबिर्सन सुझाव दिइन्।
उनले भनिन्, ‘नयाँ सभापति अलि छिटो आउनुभयो, त्यति मात्र फरक हो। गगन थापालाई मेरो बधाई छ। नेपाली कांग्रेसलाई राम्ररी हाँकेर, बीपीको विचार र गिरिजाबाबुको संगठनलाई नबिर्सी अगाडि बढ्नुस्।’
निर्वाचन आयोगको निर्णयसँगै संस्थापन पक्षमा देखिएको निराशा र आक्रोशप्रति सङ्केत गर्दै कोइरालाले पार्टी नफुटेको जिकिर गरिन्। उनले चार तारे झण्डा, रुख चिन्ह र पार्टीका मान्छेहरू उही रहेकाले डराउनुपर्ने अवस्था नरहेको बताइन्।
‘मलाई पार्टी फुटेको जस्तो फिल भएको छैन,’ कोइरालाले भनिन्, ‘पार्टीको अफिस त्यही हो, चार तारे झण्डा र रुख चिन्ह त्यहीँ छ। मान्छेहरू पनि यताउता सबै तिनै हुन्। पार्टी कहाँ फुटेको छ? तपाईंहरू किन डराएको?’
कोइरालाले असन्तुष्ट पक्षलाई कानुनको धेरै व्याख्यामा नलाग्न र परिवर्तनलाई स्वीकार गर्न आग्रह गरिन्। उनले अब आउने अर्को निर्वाचनमा सहभागी भई कांग्रेसलाई जिताउन लाग्नुपर्नेमा जोड दिइन्।
‘कानुनको व्याख्या धेरै नगर्नुस्। नआत्तिनुस्, नतर्सिनुस् र दिक्क नमान्नुस्,’ उनले भनिन्, ‘खुसी भएर यसलाई स्वीकार गर्नुस्। फेरि अर्को चुनाव आउँदैछ, त्यसमा सहभागी भएर कांग्रेसलाई जिताएर ल्याउनुस्।’
अहिले युवा पुस्ता, समाज र नेपाली जनताले नै परिवर्तन खोजिरहेको भन्दै उनले परिवर्तनसँग डराउन नहुने स्पष्ट पारिन्।
माघ ३, २०८२ शनिबार ११:१३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।