सिन्धुली र सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सिन्धुली र सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : सिन्धुली र सिन्धुपाल्चोकमा माघ २ गते भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुवै घटनामा मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ।

सिन्धुलीको दुधौली नगरपालिका-९ दुधौली बजारस्थित भित्री सडकखण्डमा मिनि टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

दुधौलीबाट खोरभन्ज्याङतर्फ जाँदै गरेको बा २ क ८५४७ नम्बरको मिनि टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००२ प १३७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दुधौली-८ का ५५ वर्षीय टिका सिं तामाङको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले टिपर चालक दुधौली-१३ का ४४ वर्षीय राज कुमार सुनुवारलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय डकाहाले गरिरहेको छ।

यस्तै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० सुकुटेस्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

बलेफीबाट बन्देउतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२२ प ४७५४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ अगाडि गइरहेको बागमती प्रदेश ०२-०१७ प ९५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा ४७५४ नम्बरको मोटरसाइकलका चालक त्रिपुरासुन्दरी गाउँपालिका-४ का २३ वर्षीय सन्तोष गुवाजु गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा सिन्धु सदाबहार अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले ९५२८ नम्बरको मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भनिएको बा ५ ख १०२१ नम्बरको टिपर र त्यसका चालकलाई भने अनुसन्धानपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमपछि आफन्तले बुझिसकेका छन्।

माघ ३, २०८२ शनिबार १०:३०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।