गगनले पार्टीको आधिकारिता पाएपछि पहिलो पटक सानेपामा देउवा पक्षीय भेला हुँदै

गगनले पार्टीको आधिकारिता पाएपछि पहिलो पटक सानेपामा देउवा पक्षीय भेला हुँदै

काठमाडौं : निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेलगत्तै शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको भेला गर्न लागेको छ।

देउवा पक्षीय नेता पूर्णबहादुर खड्काको निर्देशानुसार केहीबेरमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा भेला हुँदैछ। भेलालाई उनीहरूले केन्द्रीय कार्यसमिति बैठक भनेर दाबी गरेका छन्।

भेलामा देउवा नेतृत्वको तत्कालीन कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्देशन जारी गरेका छन्।

निर्वाचन आयोगले शुक्रबार साँझ गगन थापा नेतृत्वको समूहलाई नै मूल पार्टीको मान्यता दिँदै चार तारे झण्डा र रुख चुनाव चिन्ह कसको हुने भन्ने विवाद टुङ्ग्याइदिएको थियो।

आफ्नो पक्षले आधिकारिकता गुमाएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस रणनीति तय गर्न नेता खड्काले यो भेला डाकेका हुन्। बैठकले कानुनी र राजनीतिक लडाइँको मोडालिटी तय गर्ने शुक्रबार नै बताइसकेको छ।

यसअघि शुक्रबार मात्रै आयोजित पत्रकार सम्मेलनमा नेता पूर्णबहादुर खड्काले आफूहरूबाहेक अरुलाई आधिकारिकता दिए आन्दोलन गर्ने र आसन्न निर्वाचन बिथोलिने चेतावनी दिएका थिए।

आयोगको निर्णय सार्वजनिक भएलगत्तै खड्काले उक्त निर्णय ‘सेटिङ’ मा भएको आरोप लगाउँदै यसको प्रतिवाद गर्ने बताएका छन्।

माघ ३, २०८२ शनिबार ०८:०१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।