कांग्रेस अब व्यक्तिको इच्छामा होइन, विधिको आधारमा चल्नेछ : गगन थापा
काठमाडौं : निर्वाचन आयोगबाट नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले मान्यता पाएपछि गगन थापाले पार्टीलाई पूर्णतः विधि, विधान र पद्धतिको आधारमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्रको आन्तरिक प्रणालीमा परिवर्तनको सुरुवात भएको दाबी गरे।
जारी विज्ञप्तिमा निर्वाचन आयोगको निर्णयलाई आत्मसात गर्दै पार्टी अब व्यक्तिको चाहनामा नभई संस्थागत निर्णय र सदस्यहरूको चाहना बमोजिम चल्ने उल्लेख छ। उनले पार्टीभित्रको 'गुटगत भागबण्डा' अब नरहने जिकिर गरे।
"आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागवण्डा हुनेछैन, लाग्नेछैन। जिम्मेवारी फरक होला तर भुईँ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ," विज्ञप्तिमा भनिएको छ।
थापाले अबका दिनमा सत्ता प्राप्तिका लागि गरिने 'अप्राकृतिक गठबन्धन' लाई अन्त्य गर्ने घोषणा गरे। पार्टीको मूल्य र सिद्धान्त विपरीत कुनै सम्झौता नगर्ने उल्लेख गर्दै उनले संविधानको रक्षा र समुन्नत नेपाल निर्माणका लागि कांग्रेसले नेतृत्व लिने दाबी गरे।
थापाले भनेका छन्, "नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरूप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरीत गएर कुनै सम्झौता गर्ने छैन, 'सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ।"
उनले पूर्व सभापति शेरबहादुर देउवा लगायतका नेताहरूबाट पार्टीको लोकतान्त्रिक प्रक्रियामा पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे। उनले आसन्न निर्वाचनका लागि पार्टीलाई एकढिक्का बनाएर लैजाने र 'रिफर्म' (सुधार) को यात्रा अघि बढिसकेको बताए।
थापाले भने, "यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन- कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकताबद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न निर्वाचनमा एकढिक्का भई लाग्नुपर्नेछ।"
विगतका कमजोरीहरूको आत्म-आलोचना र समीक्षा गर्दै कांग्रेसलाई नयाँ ऊर्जासहित रूपान्तरणको दिशामा लैजाने उनको प्रतिबद्धता छ।थापाले सम्पूर्ण शुभेच्छुक र युवा पुस्तालाई पार्टीको यस नयाँ अभियानमा सहभागी हुन समेत अपिल गरे।
थापाले भनेका छन्, "नेपाली कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै होइन, आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रूपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र बाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं। नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको छ- अब कांग्रेस बदलिएको छ, बदलिनेछ।"
माघ २, २०८२ शुक्रबार २१:३०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।