साताको अन्तरालमा दुई फिल्म प्रदर्शन : 'बिगुल'भन्दा बेनिशालाई ‘द ब्लू लाइट’को पिरलो !
काठमाडौं : अभिनेत्री बेनिशा हमालका दुई फिल्म एक हप्ताको अन्तरालमा प्रदर्शन हुँदैछन्। उनी अभिनीत फिल्म ‘बिगुल’ यही माघ ९ गते र उनले निर्माण गरेको फिल्म ‘द ब्लू लाइट’ माघ १६ गते हलमा लाग्दैछन्।
फरक फरक कथावस्तुमा बनेका दुवै फिल्मको प्रचारप्रसार भने सन्तोषजनक देखिँदैन। विशेषगरी, रमेश कोइराला निर्देशित ‘बिगुल’ को प्रचारमा निर्माण पक्षको उपस्थिति कमजोर देखिएको छ। चितवन लगायतका केही स्थानमा भएका कार्यक्रम बाहेक फिल्मले राष्ट्रिय स्तरमा अपेक्षित ‘हाइप’ सिर्जना गर्न सकेको छैन।
राजनीतिक विषयवस्तुमा आधारित ‘बिगुल’को मुख्य भूमिकामा रहेकी बेनिशा हमाल अर्का हप्ता हलमा लाग्ने आफ्नो फिल्म ‘द ब्लु लाइट’को रिलिज डेट अगाडी सारिन्। शुक्रबार यसै फिल्मको ट्रेलर रिलिज कार्यक्रममा ‘बिगुल’को रिलिज डेटबारे आफूलाई नभएको बताइन्।
‘बिगुल’ ९ गते नै रिलिज हुँदैछ भन्ने कुरा पहिला आफूलाई थाहा नभएको उनको भनाई छ। यसअघि फिल्मको कथावस्तु तोडमोड गरिएको भन्दै निर्माण पक्षसँग असन्तुष्ट रहेकी बेनिशाले हाल विवाद मिलिसकेको बताइन्।
मनोवैज्ञानिक थ्रीलर कथावस्तुमा निर्माण भएको फिल्म ‘द ब्ल लाइट’ चलाउन उनलाई चर्को दबाब छ। किनभने उनी यस फिल्मको निर्माता मात्र नभएर कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलको मालिक पनि हुन्। यसैबाट उनले आफ्नो फिल्म ‘द ब्ल लाइट’को टिजर, ट्रेलर सार्वजनिक गरेकी छन्।
उनी आफैले यो फिल्मबाट डिजिटल अधिकार लिन थालेकी छन्। फरक कथावस्तुमा निर्माण भएको यो फिल्म नचलेको खण्डमा उनको लगानी मात्र होइन, करियरमा पनि धक्का पुग्न सक्ने सम्भावना छ। एकै हप्तामा दुई फिल्म रिलिज हुँदा उनलाई घाटाको विषय हो।
बलिरामको निर्देशन रहेको ‘द ब्ल लाइट’मा बेनिशाका अलावा अर्पण थापा, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी र सुरक्षा इटानीका साथै बाल कलाकारमा गृष्मा कटुवाल, सहारा शर्माले अभिनय गरेका छन्। सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘भाइरल गोर्खे’हिजोबाट हलमा लागि रहेको छ।
यसै फिल्मबाट छायाकार नरेन्द्र मैनाली पनि निर्मातामा आएका छन्। उनले कथा मन परेको कारणले फिल्ममा लगानी गरेको बताए। फिल्मका कलाकार चिनिने तर पर्दा पछाडि रहेर काम गर्नेहरूको नाम ओझेल रहने हुँदा आफूले निर्माणमा हात हालेको उनले सुनाए।
फिल्मको छायांकन पनि उनैले गरेका हुन्। स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्लू लाइट’को सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन्।
माघ २, २०८२ शुक्रबार १८:४७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।