विवाहको बहानामा सुमो रिजर्भ, निशानामा बैंक : चालकले खोलिदिए लुटेराको पोल
सिन्धुली : यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस २९ गते साँझ साढे ७ बजे बैंक लुटपाटमा संलग्न सात जना पक्राउ गरिएको र एक जना फरार रहेको जानकारी दिए।
उनका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० का ४९ वर्षीय सुमो चालक भागवतसिंह थापा, सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुर महानगरपालिका-२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका-५ का २३ वर्षीय मिलन गिरी, सोही ठेगाना भएका १९ वर्षीय विवेक मगर, सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक जना नाबालक पक्राउ परेका छन्।
पुस २९ गते साँझ उनीहरूले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए। बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते बनाइ बैंक भित्र छिरी नगद लुटेर उनीहरू फरार भएका थिए।
घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा विएडि ०३९८ टाटा सुमो र चालक भागवतसिंहलाई फेला पारी निजलाई प्रारम्भिक रूपमा सोधपुछ गर्दा अपरिचित छ जनाले विवाहको लागि भनी उक्त टाटा सुमो काभ्रेको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको जानकारी पाएपछि चालकले दिएको हुलियाको आधारमा बैंक लुटपाटमा संलग्नको खोजिलाई तीव्र पारिएको थियो।
नेपाल एसबिआई शाखा कार्यालय घ्याङलेख शाखाका अनुसार उक्त दिन बैंकबाट तीन करोड सात लाख पैसा लुटी उनीहरूले लगेका थिए। पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको।
प्रहरीले दुई करोड ६८ लाख ५५ हजार १७५ बरामद गरेको छ। साथै उक्त घटनामा प्रयोग भएका दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, मोबाइल पाँच थान, ठूलो पानी टेप एक थान, कालो रङको नकाब तीन थान र रातो रङको नकाब एक थान, कालो पञ्जा एक जोर बरामद गरिएको छ।
माघ २, २०८२ शुक्रबार १६:५१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।