कांग्रेसको विवादले फागुन २१ को निर्वाचनमा असर नपर्ने प्रचण्डको दाबी

कांग्रेसको विवादले फागुन २१ को निर्वाचनमा असर नपर्ने प्रचण्डको दाबी

चितवन : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताए।

भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको शुक्रबार यहाँ उद्घाटन गर्दै उनले निर्वाचनको विकल्प नरहेको बताए। उनले भने, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरि हल्ला थियो। तर चुनाव भयो।”

राजनीतिक दल र जनता अघि बढिसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक प्रचण्डले आग्रह गरे। निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले निर्धारित समयमा निष्पक्ष रूपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिए।

फरक प्रसङ्गमा प्रचण्डले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताए। उनले भने, “ठूलो पार्टी विभाजन हुनु राम्रो होइन। सुखद समाचार होइन। तर यसले निर्वाचनमा कुनै असर पर्दैन।”

भरतपुर महानगरपालिकाले समानुपातिक रूपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको उनले बताए। यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रूपमा गरिएको योगदानले नै यो सम्भव भएको प्रचण्डको भनाइ थियो।  

माघ २, २०८२ शुक्रबार १६:२८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।