अवैधानिक ढङ्गले विशेष महाधिवेशन बोलाएर पार्टी विभाजनतर्फ धकेलियो : खड्का

अवैधानिक ढङ्गले विशेष महाधिवेशन बोलाएर पार्टी विभाजनतर्फ धकेलियो : खड्का

काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक रहेको दोहोर्याएको छ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेर निर्वाचन आयोगमा आधिकारिकताको लागि निवेदन दिएपछि देउवा पक्षले पनि शुक्रबार आधिकारिकताको दाबी पेस गरे पश्चात् पत्रकार सम्मेलन गरेर महाधिवेशन अवैधानिक रहेको दोहोर्यायो।

पत्रकार सम्मेलनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै व्यक्ति वा समूहलाई विशेष महाधिवेशन बोलाउने अधिकार पार्टी विधानले नदिएको तर्क गरे। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अवैधानिक रूपमा विशेष महाधिवेशन बोलाएको उनको दाबी छ। 

केन्द्रीय कार्यसमितिलाई मात्र विशेष महाधिवेशन बोलाउने र महाधिवेशनमा गरिने प्रस्ताव तय गर्ने अधिकार रहेको धारणा राखे। खड्काले भने, "कुनै व्यक्ति वा समूहलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन। केन्द्रीय कार्य समितिलाई मात्र अधिकार छ। केन्द्रीय कार्यसमितिले मात्र त्यसको तय गर्छ।"

केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन गर्ने निर्णय भइसके पश्चात् विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको उनको दाबी छ। नियमित महाधिवेशनको लागि क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मेवारी लिएका तत्कालीन महामन्त्री थापाले आफ्नो काम पुरा नगरी अवैधानिक रूपमा विशेष महाधिवेशन बोलाउनु दुख रहेको बताए।

उनले आफ्नो जानकारी बिना नियतिम महाधिवेशन स्थगित गरिएको बताए। विशेष महाधिवेशन बोलाएर पार्टीलाई विभाजनतर्फ धकेलेको उनको आरोप छ। 

 
 

माघ २, २०८२ शुक्रबार १४:५३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।