आचारसंहिता पालना गराउन दलहरूले दिए आयोगलाई सुझाव, व्यावहारिक बनाउन आग्रह
काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वयनका विषयमा छलफल गरेको छ।
छलफलमा सहभागी दलका प्रतिनिधिहरूले आचारसंहितालाई व्यावहारिक र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचन आचारसंहिताको पुस्तिका लामो भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए।
उनले भने, ‘हामीले यहाँबाट सुनेर र सिकेर आफ्नो दलभित्र पनि अन्तरक्रिया गर्नुपर्छ। तर, आचारसंहितामा धेरै विषय समेट्न खोज्दा कार्यान्वयन गर्न गाह्रो भएको छ।’
विश्वकर्माले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आयोगले कडा कदम चाल्नुपर्ने बताए।
उनले भने, ‘राष्ट्रिय झण्डाको प्रयोगलाई प्रतिस्पर्धामा उतारिनु हुँदैन। यदि हामी अरू देशसँग युद्ध लड्दैछौं भने राष्ट्रिय झण्डा बोकौँ, नत्र दलीय प्रतिस्पर्धामा दलकै झण्डा बोक्नुपर्छ।’
एमाले नेता राजन भट्टराईले आचारसंहिता निर्माण गर्दा विगतका अनुभवहरूलाई पनि ध्यान दिनुपर्ने बताए।
उनले बालबालिकाको प्रयोग, जुलुस आमसभामा सवारी साधनको प्रयोग र मौन अवधिमा हुने चलखेल जस्ता विषयलाई व्यावहारिक रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए।
‘मौन अवधिमा उम्मेदवारलाई घरमै बस्न बाध्य पार्ने हो कि के गर्ने हो, आयोगले सोच्नुपर्छ’, उनले भने।
नेपाली कम्युनिष्ट पार्टीका नेता चिरञ्जीवी ढकालले समानुपातिक निर्वाचन प्रणालीको मर्मअनुसार काम हुन नसकेको गुनासो गरे।
उनले भने, ‘पैसाको बलमा बन्द सूची पेस गर्ने प्रवृत्ति बढेको छ। यसलाई रोक्न दलहरू नै प्रतिबद्ध हुनुपर्छ।’
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का महासचिव केदार चन्द्र शर्माले आचारसंहिता पालनाको अनुगमन संयन्त्रलाई बलियो बनाउनुपर्ने बताए।
उनले भने, ‘आचारसंहिता उल्लंघन गर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने स्पष्ट हुनुपर्छ। सजाय विहीन कानुनको कुनै अर्थ हुँदैन।’
प्रगतिशील लोकतान्त्रिक पार्टीकी ओजस्वी भट्टराईले आचारसंहितामा डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रयोगलाई कसरी नियमन गर्ने भन्ने विषय स्पष्ट हुनुपर्छ भनिन्।
उनले भनिन्, ‘विदेशबाट हुने खर्च र डलर अकाउन्टबाट हुने विज्ञापनलाई कसरी ट्रयाक गर्ने भन्ने चुनौती छ।’
छलफलमा सहभागी अन्य दलका प्रतिनिधिहरूले पनि निर्वाचन खर्च, सामाजिक सञ्जालको दुरुपयोग र आचारसंहिताको व्यावहारिक कार्यान्वयनमा आयोगको ध्यानार्कषण गराएका थिए।
उनीहरूले आयोगलाई निष्पक्ष र पारदर्शी ढंगले निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै दलहरूको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए।
आयोगले दलहरूबाट आएका सुझावहरूलाई मनन गर्दै आचारसंहितालाई अन्तिम रूप दिने र कडाइका साथ कार्यान्वयन गराउने प्रतिबद्धता जनाएको छ।
माघ २, २०८२ शुक्रबार १४:४४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।