महाधिवेशनबाट प्रतिनिधि फर्किएको पूर्णबहादुरको तर्क झुटो भएको ‘गगन कांग्रेस’का महामन्त्रीको दाबी

महाधिवेशनबाट प्रतिनिधि फर्किएको पूर्णबहादुरको तर्क झुटो भएको ‘गगन कांग्रेस’का महामन्त्रीको दाबी

काठमाडौं : गगन थापा नेतृत्वको नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पुगेर दिएको अभिव्यक्ति झुटो भएको दाबी गरेका छन्।

बिहीबार ‘देउवा कांग्रेस’ले आयोगमा पुगी विशेष महाधिवेशनमा सहभागी भएका भनिएका आठ सय ८५ प्रतिनिधि देउवा नेतृत्वको कांग्रेसमा फर्किएको दाबी गरेपछि महामन्त्री घिमिरेले त्यसको कडा प्रतिवाद गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत ७ बुँदे धारणा सार्वजनिक गर्दै खड्काको दाबीलाई ‘तर्कहीन’ र ‘राजनीतिक प्रोपोगाण्डा’ को संज्ञा दिएका छन्।

महामन्त्री घिमिरेले विशेष महाधिवेशन सम्पन्न भई नयाँ केन्द्रीय कार्यसमिति गठन भइसकेको र सम्पूर्ण दस्तावेज आयोगमा दर्ता भइसकेको अवस्थामा ‘प्रतिनिधि फिर्ता’ को कुरा उठाउनु हास्यास्पद भएको बताएका छन्।

‘महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रूपमा नेतृत्व चयन समेत भइसकेपछि यो विषय उठाउनु केवल राजनीतिक प्रोपोगाण्डा मात्र हो,’ घिमिरेले भनेका छन्।

उनले विशेष महाधिवेशनको मागपत्र बुझाउँदा हस्ताक्षर गरेकामध्ये जम्मा २९ जनाले मात्र नाम फिर्ता लिएको अभिलेख सचिवालयमा सुरक्षित रहेको दाबी गरे।

देउवा कांग्रेसका कार्यवाहक सभापति खड्काले आयोगमा पुगेर ‘विशेष महाधिवेशनको बारेमा हल्ला मात्रै सुनेको’ भनी दिएको अभिव्यक्तिप्रति घिमिरेले आश्चर्य प्रकट गरेका छन्।

‘आफैँ उपस्थित भएर विशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यवाहक सभापतिले विशेष महाधिवेशनबारे हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो देखिन्छ’, घिमिरेले उल्लेख गरेका छन्।

घिमिरेले तथ्याङ्क प्रस्तुत गर्दै विशेष महाधिवेशनको माग गर्दा २४ सय ८८ जना (कुल संख्याको ५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिको हस्ताक्षर रहेको र महाधिवेशनमा त्यो संख्या बढेर २६ सय ५२ (५७.२१ प्रतिशत) पुगेको दाबी गरेका छन्।

घिमिरेले देउवा नेतृत्वको तत्कालीन कार्यसमितिले वैधानिक दायित्व पूरा नगरेको आरोप लगाएका छन्। उनले तत्कालीन कार्यसमितिले म्याद माघ मसान्तसम्म मात्र बढाएको तर कार्यसम्पादन समितिले म्याद गुज्रिएको तीन महिनापछिको मिति राखेर नियमित महाधिवेशन तोक्नु अवैधानिक भएको जिकिर गरेका छन्।

उनले विशेष महाधिवेशनको मागलाई तीन महिनासम्म छलफलको विषय नबनाएको, क्रियाशील सदस्यता वितरण र नवीकरण नसकी वडा अधिवेशन रोकेको र विधान मिचेको आरोप समेत लगाएका छन्।

केन्द्रीय कार्यालयबाट प्रवक्तामार्फत आधिकारिक धारणा छिट्टै सार्वजनिक हुने घिमिरेले जानकारी दिएका छन्।

स्मरण रहोस्, बिहीबार नै देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगमा पुगेर विशेष महाधिवेशनका ८८५ प्रतिनिधि आफ्नो पक्षमा फर्किएको विवरण बुझाएका थिए।

माघ २, २०८२ शुक्रबार १३:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।