टी-२० विश्वकप : बंगलादेशको अडान बुझ्न आईसीसीको टोली ढाका जाने

टी-२० विश्वकप : बंगलादेशको अडान बुझ्न आईसीसीको टोली ढाका जाने

एजेन्सी : आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपमा बंगलादेशको सहभागिताका विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एक प्रतिनिधिमण्डल बंगलादेश जाने भएको छ।

बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले बिहीबार फरेन सर्भिस एकेडेमीमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘पछिल्लो जानकारी अनुसार, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का अध्यक्ष अमिनुल इस्लाम बुलबुलले मलाई आईसीसीको टोली छलफलका लागि बंगलादेश आउने सम्भावना रहेको बताउनुभएको छ।’

नजरुलले बंगलादेश आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

‘हामी आफ्नो अडान परिवर्तन गर्ने पक्षमा छैनौं। हामी विश्वकप खेल्न उत्सुक छौँ, विशेष गरी श्रीलंकामा हुने खेलहरूमा। र, मलाई विश्वास छ कि यसको व्यवस्थापन गर्न असम्भव छैन’, उनले भने।

बीसीबीका एक अधिकारीले नाम नबताउने सर्तमा आईसीसीको प्रतिनिधिमण्डल आउने कुरा पक्का भए पनि मिति भने तय भइनसकेको बंगलादेशी अखबर द डेली स्टारले जनाएको छ।

‘हामी छलफलमै छौं, टोली आउने तयारी छ तर कहिले आउने भन्ने यकिन भइसकेको छैन’, उनले भने।

गत मंगलबार बीसीबीको नेतृत्व र आईसीसीबीच भिडियो कन्फरेन्समार्फत छलफल भएको थियो। उक्त बैठकमा पनि बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली भारत नपठाउने निर्णय सुनाएको थियो। साथै, बंगलादेशले आफ्ना खेलहरू भारतबाहिर स्थानान्तरण गर्न पुनः अनुरोध गरेको थियो।

आईसीसीले बंगलादेशलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि बोर्ड आफ्नो अडानमा टसको मस भएको छैन। यद्यपि, बीसीबी र आईसीसी दुवै पक्षले सम्भावित समाधान खोज्न छलफल जारी राख्न सहमति जनाएका छन्।

माघ २, २०८२ शुक्रबार १३:०२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।