वैधानिकता दाबी गर्दै शेखरसहित निर्वाचन आयोग पुगे देउवा पक्षीय नेता

वैधानिकता दाबी गर्दै शेखरसहित निर्वाचन आयोग पुगे देउवा पक्षीय नेता

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा उपसभापति, महामन्त्रीविहीन कार्यसमितिका सहमहामन्त्रीहरू र नेता डा. शेखर कोइरालासहितको टोली स-शरीर आयोगमा उपस्थित भएर आधिकारिकता दाबी गरेको हो।

बिहीबार आयोग पुगेको टोलीमा कार्यवाहक सभापति खड्कासहित उपसभापति धनराज गुरुङ र सातै जना सहमहामन्त्रीहरू सहभागी छन्। गगन थापा नेतृत्वको समूहले बुधबार मात्रै विशेष महाधिवेशनबाट निर्वाचित भएको भन्दै आधिकारिकता दाबी गरेपछि देउवा पक्षले काउन्टर दाबी पेश गरेको हो।

आयोगमा पुगेका देउवा पक्षीय नेताहरूले गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको कार्यसमिति पूर्णतः अवैध भएको जिकिर गरेका छन्। पार्टी विधान र कानुनअनुसार कुनै पनि विशेष महाधिवेशन आह्वान नगरिएको र भृकुटीमण्डपमा भएको भनिएको भेला अवैधानिक भएको उनीहरूको तर्क छ।

आयोगमा पुगेको देउवा पक्षको कार्यसमितिमा अहिले महामन्त्री पद रिक्त छ। यसअघि नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरिएपछि यो पद खाली भएको हो। देउवा पक्षसँग अहिले दुई उपसभापति (पूर्णबहादुर खड्का र धनराज गुरुङ) र सात सहमहामन्त्रीहरू छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको संघारमा (माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन) देशको ठूलो दल दुई चिरा परेर आयोग धाउन थालेसँगै निर्वाचन आयोग दबाबमा परेको छ। आयोगले अबको तीन दिनभित्रै यो विवाद टुङ्ग्याउनुपर्ने बाध्यता छ। यदि समयमै निर्णय नभए वा एउटा पक्ष बाहिरिए निर्वाचनको समग्र प्रक्रिया नै प्रभावित हुन सक्ने जोखिम बढेको छ।

गगन थापा पक्षले भने बिहीबार नै बहादुरभवन पुगेर विशेष महाधिवेशनको निर्णय र हस्ताक्षरसहितको विवरण बुझाइसकेको छ। दुवै पक्षको दाबी र कानुनी आधार हेरेर आयोगले छिट्टै निर्णय लिने अपेक्षा गरिएको छ।

माघ २, २०८२ शुक्रबार १०:३८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।