गगनको कार्यसमितिमा दागीदेखि त्यागीसम्म, समावेशी अभ्यासमा बलियो
काठमाडौं : २०६२/०६३ मा भएको दोस्रो जनआन्दोलनका पोस्टर ब्वाइ रहेका गगन थापा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्विरोध चुनिए । दोस्रो जनआन्दोलन त्यस्तो आन्दोलन हो जसले राजनीतिक मात्रै नभएर सामाजिक रूपान्तरणको बिगुल फुकेको थियो।
त्यही बिगुल फुक्ने धेरै मध्ये एक गगन थापा समेत थिए। त्यतिबेला कांग्रेसका विधानमा संघीयता गणतन्त्रका सट्टा संवैधानिक राजतन्त्र रहेको अवस्थामा उनले गणतन्त्र र समावेशिताको नारा सडकबाट लगाएका थिए।
कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री समेत भएका थापाले गणतन्त्रको नारा लगाउँदा राजद्रोहको मुद्दा खेपेका थिए। २०६४ सालमा संविधान सभाको चुनाव भएपछि शायद पोस्टर ब्वाइ भएकैले उनलाई पार्टीले समानुपातिक उम्मेदवार बनाएको थियो । त्यसयता संविधानसभा र संसदमा निरन्तर रहेका थापाले समावेशितादेखि सुशासनको मामिलामा खरो प्रस्तुत हुँदै आएका छन् ।
विद्रोहको स्वभाव कायम राख्दै शेरबहादुर देउवा पक्षले अवैधानिक तरीकाले विधान कुल्चँदै विशेष महाधिवेशनको माग टार्दै आए पनि तत्कालीन महामन्त्रीका रूपमा थापा अनि अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरे। यो कार्यसमिति उनको इच्छा र निर्णय अनुसार बनेको हो। आखिर कस्तो बनाए त उनले आफ्नो नेतृत्वको कार्यसमिति?
शैलजापछि पहिलो पटक महिला उपाध्यक्ष
कांग्रेसमा महिलाले पाएको सबैभन्दा माथिल्लो पद उपसभापति हो। शैलजा आचार्य कांग्रेसको उपसभापति भएकी थिइन्। त्यसयता पदाधिकारीमा सह-महामन्त्रीमा महिला अनिवार्य भएकाले एक जना नछुटे पनि त्यसभन्दा माथिल्लो पदमा महिला पुग्न सकेका थिएनन्।
यस पटक विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा पदाधिकारीमै तीन जना महिला छन् नै शैलजापछि पहिलो पटक पुष्पा भुसाल कांग्रेसको उप सभापति भइन्। सह-महामन्त्रीमा पनि डिला सङ्ग्रौला पन्त र मधेसीमा मुक्ता कुमारी यादव चुनिएकी छिन्। यसले १३ सदस्यीय पदाधिकारीमा महिलाको संख्या तीन पुगेको छ।
महिला प्रतिनिधित्व ३६ प्रतिशत
पदाधिकारीमा मात्रै समग्र कार्यसमितिमा रहेका महिलाहरूको उपस्थिति पनि निकै उत्साहजनक देखिन्छ। एक सय ३४ जनाको केन्द्रीय कार्य समितिमा महिलाको संख्या ४४ जना छन्। पदाधिकारीमा पुष्पा , डा. डिला र मुक्ता छन्। ४१ जना केन्द्रीय सदस्य छन्। यसको आधारमा हेर्दा गगनले नेतृत्व गरेको कार्यसमितिमा महिलाको उपस्थिति ३२.८३% प्रतिशत देखिन्छ।
क्लस्टरदेखि भूगोलसम्म सन्तुलित
आदिवासी जनजातिमा एक सह-महामन्त्रीसहित १६ जना केन्द्रीय समितिमा छन्। यसको आधारमा ११.९४% प्रतिशत देखिन्छ। दलित समुदायबाट एक सह-महामन्त्रीसहित नौ जना केन्द्रीय समितिमा पर्दा उपस्थिति ७.४६ प्रतिशत देखिन्छ।
अन्य क्लस्टरमा मधेसीबाट १ पदाधिकारी र ९ सदस्य सहित १० जना (७.४६%) जना छन्। थारुबाट एक पदाधिकारी ४ सदस्य छन्। मुस्लिमबाट पनि एक पदाधिकारी र तीन सदस्य छन्।
पदाधिकारी तहमा सह-महामन्त्रीका पदहरू सबै क्लस्टर (महिला, दलित, जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र) लाई बाँडिएको छ। ७ वटै प्रदेशबाट ३-३ जनाको दरले प्रतिनिधित्व गराइएर भौगोलिक समावेशितालाई समेटिएको छ। अपाङ्गता भएका र अल्पसङ्ख्यक समुदायलाई पनि १-१ सदस्य दिएर समावेशिताको दायरा फराकिलो बनाइएको छ।
दागीलाई महामन्त्री
गगनको कार्यसमिति पुरै दागरहित भने बन्न सकेन। उनले प्रभाव हेरेर केही विवादितहरूलाई समेत महत्वपूर्ण जिम्मेवारी दिएका छन्। सङ्गठनदेखि राजनीतिक प्रतिवेदन समेत बनाउने महत्वपूर्ण जिम्मेवारी पूरा गर्नु पर्ने महामन्त्रीले हो। महामन्त्री गुरुराज घिमिरे विवादमुक्त छन्। तर अर्का महामन्त्री प्रदीप पौडेल स्वास्थ्यमन्त्रीका रूपमा गरेका कामका कारण गन्हाएका पात्र हुन्।
जेएनजी विद्रोहले ढालेको केपी शर्मा ओली सरकारमा स्वास्थ्यमन्त्री रहेका पौडेलले स्वास्थ्यमन्त्रीहुँदा मोहन बस्नेत लगायतका नेताले रोपेको स्वास्थ्य उपकरण खरिद भ्रष्टाचारलाई जगैदेखि बलियो बनाएर हिँडे। केन्द्रदेखि प्रदेशसम्मकै खरिदमा उनको छनौट मिलेमतो मास्टरहरू नै परे। उनले स्वास्थ्य मन्त्रीको कार्यकालमा घुसमा ‘प्रिपेड मन्त्री’को उपनाम पाएर बिदा भए।
स्वास्थ्य मन्त्रालय चलाएका गगन प्रदीपको कार्यकालमा मच्चिएको लुटबारे जानकार नहुने कुरै भएन। त्यसमा प्रदीपको सल्लाहकारमा आफू निकट प्रताप पौडेललाई समेत राखेका थिए। सुशासनका लागि परिवर्तन भन्दै दलमा विद्रोह गर्दा उनले आफ्नो मुख्य सहयोगीमा भ्रष्ट आचारका प्रदीप रोजे।
त्यस्तै अर्का पात्र छन् सुवास पोखरेल। बाल संगठनको जग्गा व्यापारिक स्वार्थका लागि भाडामा लगाएर ठगी गरेको अभियुक्त हुन् उनी। मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। तर उनै पोखरेललाई गगनले कांग्रेसको रूपान्तरण गर्न केन्द्रीय सदस्य बनाए।
गुरुमाथि न्याय
दोस्रो जनआन्दोलनमा नेविसंघको अध्यक्ष थिए गुरुराज घिमिरे। पशुपति क्याम्पसमा आयोजित संघको कार्यक्रममा पहिलो पटक उनले अब गणतन्त्रको अजेण्डा अगाडि बढाउने प्रस्ताव राखेका थिए। त्यसपछि उनी निरन्तर आन्दोलनको नेतृत्वमा लागे।
त्यही कार्यसमितिमा गगन महामन्त्री थिए। गुरु र गगनबीचको विवादले त्यो बेलामा सङ्घले राम्रोसँग काम गर्न सकेन। गगन सडकमा निरन्तर गणतन्त्रको नाराले लोकप्रिय हुँदै गए। गुरु बिस्तारै छायामा पर्न थाले। उनी कहिले सुजाता कोइरालाको समूहतिर लागे त कहिले शेखर कोइरालातिर। प्रदेश सांसददेखि कोशी प्रदेश सभापतिको उम्मेदवार बने पनि झिनो मतले उनी पराजित भए।
पछिल्लो समय उनी शेखर समूहमा रहे पनि विशेष महाधिवेशनको पक्षमा अडिग रहेर गगन र विश्वप्रकाश शर्मालाई साथ दिए। विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर सङ्कलनदेखि आयोजनासम्ममा सक्रिय रहेका गुरु गगनको कार्यसमितिमा महामन्त्री भए।
महामन्त्रीमा पहिला विश्वप्रकाशले उम्मेदवारीको तयारी गरेका थिए। तर अन्तमा उनी उपसभापति हुन राजी भएर गुरुलाई महामन्त्रीको जिम्मेवारी दिए।
दुई ससुरा नै केन्द्रीय सदस्य
गगनको कार्यसमितिमा परिवारका दुई जना केन्द्रीय सदस्य भए। अर्जुन नरसिंह केसी र डा केदार नरसिंह केसी नै केन्द्रीय सदस्य भए। डा केदार नुवाकोट जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए। अर्का ससुरा जगदीश नरसिंह केसी भने कार्यसमितिमा अटाएनन्।
पार्टीभित्रको आन्तरिक गुट व्यवस्थापनमा पनि सबैतिरको प्रतिनिधित्व गराइएको छ। शेरबहादुर निकट पुष्पादेखि डा डीला र उदयशमसेर राणासम्म गगनको कार्यसमितिमा आए। सिटौला समूहका सुधीर सिवाकोटीदेखि प्रदीपसम्म, शेखर समूहका गुरुसहितका नेताहरु सहभागी छन्। पाका पुस्तामा पनि ओमकार प्रसाद श्रेष्ठ, गोपालमान श्रेष्ठदेखि अर्जुननरसिंह केसीसम्म केन्द्रीय समितिमा छन्।
माघ २, २०८२ शुक्रबार ०१:०५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।