फिल्ममा 'कमब्याक' गर्दै नायक आकाश श्रेष्ठ
काठमाडौं : लामो समय ठूलो पर्दामा मुख्य भूमिकामा नदेखिएका नायक आकाश श्रेष्ठले अब नयाँ फिल्ममार्फत कमब्याक गर्दै छन्। म्युजिक भिडियोमा व्यस्त रहँदै आएका आकाशले निर्देशक रुपेश तामाङको नयाँ प्रोजेक्टमा सम्झौता गरे।
हाल फिल्मको नाम भने खुलाइएको छैन। माघे संक्रान्तिको अवसर पारेर बिहीबार नायक श्रेष्ठ र निर्माण पक्षबीच औपचारिक रूपमा कागजी सम्झौता भयो। ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सनप्रधान फिल्म निर्देशन गरिसकेका रुपेशको यस पटक पनि आकाशलाई एक्सन अवतारमै प्रस्तुत गर्ने तयारी छ।
केही समय फिल्ममा नदेखिएपछि आकाशले राम्रो कथाको पर्खाइमा रहेको प्रतिक्रिया दिने गरेका थिए। सम्झौतापछि उनले नयाँ प्रोजेक्टलाई लिएर उत्साह व्यक्त गरे। लामो समयदेखिको प्रतीक्षालाई अब आउने नयाँ फिल्मले न्याय गर्ने उनको विश्वास छ।
निर्देशक तामाङका अनुसार फिल्ममा आकाशलाई भिन्न र सशक्त भूमिकामा देख्न पाइनेछ। जुना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा सुमन गजमेरले तयार पारेका हुन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी फागुनको अन्तिम साताबाट सुरु गरिनेछ।
फिल्मको नाम, अन्य कलाकार तथा प्राविधिक टोलीका बारेमा जानकारी क्रमशः सार्वजनिक गर्दै जाने निर्माण पक्षले जनाएको छ। विगत केही समययता फाट्टफुट्ट केमियो भूमिकामा मात्र देखिएका आकाशका लागि यो फिल्म करियरको पुनरागमनका हिसाबले महत्त्वपूर्ण मानिएको छ।
माघ १, २०८२ बिहीबार १९:०९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।