विद्यार्थीलाई झुक्क्याएर दुबई पठाएको आरोपमा पाँच जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

विद्यार्थीलाई झुक्क्याएर दुबई पठाएको आरोपमा पाँच जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं : उच्च शिक्षाका लागि अष्ट्रेलिया, फ्रान्सलगायतका विश्वविद्यालयहरूबाट मान्यता प्राप्त कलेज भएको प्रलोभन देखाएर विद्यार्थीहरूलाई दुबई पुर्याउने पाँच जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

विद्यार्थीहरूले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिएर बुधबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हालसम्म १३ जना विद्यार्थीले प्रहरीमा जाहेरी दिएका छन्। 

पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौंमा 'बेस्ट एडुकेसन प्राइभेट लिमिटेड' नामक कन्सल्टेन्सी चलाउँदै आएका कृष्ण थापा, 'मर्सी एडुकेसन'का सञ्चालक कपिलवस्तुका रामचन्द्र टण्डन, 'सिटिहब एडुकेसन नेटवर्क'का सुवास सिलवाल क्षेत्री र 'कान्तिपुर एबरोड कन्सल्टेन्सी'का सञ्चालकहरू हेमराज भट्ट तथा दामोदर ढकाल रहेका छन्। 

प्रहरीका अनुसार यी कन्सल्टेन्सीहरूले विद्यार्थीलाई दुबईका अष्ट्रेलिया र फ्रान्स लगायतका विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजमा अध्ययन गर्न सकिने र पछि त्यहीँबाट 'क्रेडिट ट्रान्सफर' गरेर तेस्रो मुलुक जान पाइने भनेर झुक्क्याउने गरेको आरोप छ। यी सबै कन्सल्टेन्सीले नेपालको शिक्षा मन्त्रालयबाट उच्च शिक्षाको समेत स्वीकृति नलिएको खुलेको छ।

सञ्चालकहरूले विद्यार्थीहरूबाट आठ लाखदेखि २२ लाख रुपैयाँसम्म असुल्ने गरेका थिए। दुबई पुगेपछि सम्झौता बमोजिमको अध्ययन र सुविधा नपाएका विद्यार्थीहरूले आफू ठगिएको थाहा पाएपछि उजुरी गरेका थिए। उनीहरूले न्यायको लागि काठमाडौंमा आवाज उठाइरहेका छन्। विद्यार्थीहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठगी गर्ने कन्सल्टेन्सी र सञ्चालकहरू विरुद्ध शिक्षा मन्त्रालयदेखि गृह मन्त्रालयसम्ममा उजुरी दिएका छन्।

‘अहिले पाँच जना भए पनि पक्राउ परेको खबर सुन्दा निकै खुसी लागेको छ,’ पीडित विद्यार्थी विश्वजित यादवले उकेरासँग भने, ‘हाम्रो अझै धेरै साथीहरू खुलेर आफू ठगीमा पर्नुभएको कुरा भन्न सकिरहनु भएको छैन। अब यो कारबाहीले गर्दा धेरै साथीहरूको पीडा बाहिर आउँला।’ 

यादवले आफूसँग दुबईमा विभिन्न माध्यमबाट पढ्न गएका चार सय जना पीडित विद्यार्थी सम्पर्कमा रहेको बताए।

माघ १, २०८२ बिहीबार १८:२६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।