चुनावमा हिरो बनाउन रविको अभियोग फिर्ताको निर्णय भएको ओलीको दाबी
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चुनावमा हिरो बनाउन सरकारले अभियोग फिर्ताको नाटक गरेको आरोप लगाए।
सरकारले कहिले मुद्दा लगाउने र कहिले फिर्ता लिएर अमुक व्यक्तिलाई ‘हिरो’ बनाउने खेल खेलेको उनले बताए। रविमाथि सहकारी ठगीसहित तीन अभियोगमा अनुसन्धान र अभियोग दर्ता हुँदा ओली नै प्रधानमन्त्री थिए।
बिहीबार काठमाडौंमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण कार्यक्रममा उनले विधि र कानुनलाई राजनीतिक स्वार्थ अनुसार प्रयोग गरिएको भन्दै सुशीला कार्की नेतृत्वको सरकारप्रति आक्रोश पोखे।
महान्यायाधिवक्ता कार्यालयले बुधवार लामिछानेमाथि लागेको सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमध्ये ठगी बाहेकका दुई अभियोग फिर्ता लिन अभियोग पत्र सच्याउन स्वीकृत दिने विवादित निर्णय गरेको थियो।
‘हिजो मुद्दा लगाइयो। आज फेरि फिर्ता लिइँदै छ वा संशोधन गरिँदै छ,’ ओलीले भने, ‘अब अभियोगबाट बरी गरिन्छ। यो सब किन गरिँदै छ भने चुनावमा हिरो बनाएर अगाडि सार्न सकियोस्।’
उनले कुनै व्यक्तिको सम्पत्ति खाए पनि खान पाइने र मुद्दा नलाग्ने स्थिति सिर्जना गरिएको भन्दै व्यंग्य गरे। उनले अहिले थिति र विधिको शासन नभई जसको लाठ्ठि त्यसको भैँसी जस्तो शासन स्थापना भएको टिप्पणी गर्दै भने, "महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ । लज्जाको विषय भएको छ । यस्तो पनि हुन्छ ?"
माघ १, २०८२ बिहीबार १८:१५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।