निफमा विश्वभरका ८८ उत्कृष्ट फिल्मबीच प्रतिस्पर्धा
काठमाडौं। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को नवौं संस्करण आयोजना गर्ने भएको छ। महोत्सव आगामी चैत १९ देखि २३ गते (अप्रिल २-६, २०२६) सम्म चल्नेछ।
आयोजकका अनुसार यस निफको नवौं संस्करणमा ४० देशका ८८ चलचित्र प्रदर्शन हुनेछन् भने चलचित्रकर्मीहरूसँग अन्तरक्रियासमेत गरिनेछ। निफका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले चलचित्र महोत्सवको आयोजना गर्न लागिएको हो ।
‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै महोत्सवको मिति घोषणा गरिएको छ। उनले यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्रहरू चयन गरिएको बताए।
उनी भन्छन्, "युवा मेकरहरूलाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौं। चलचित्रबाट युवा दर्शकहरूलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ।"
उनले चलचित्र महोत्सवका लागि अहिलेसम्म ८० बढी देशबाट ८ सय फिल्मले सहभागिताका लागि आवेदन दिइसकेका छन्। पाठकका अनुसार ‘विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका, सङ्घाई, लोकार्नो, बुसान, गोवा लगायत चलचित्र महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर चलचित्र, सर्ट फिल्म, एआईबाट बनेका चलचित्र र डकुमेन्ट्रीहरू गरी ४० देशका ८८ वटा चलचित्रहरू निफले छनोट गरेको हो।
ती ८ सय फिल्ममध्येबाट उत्कृष्ट र युवाको चासोमा रहेका चलचित्रहरू चयन गरिएकाले यस संस्करणको निफको स्क्रिनिङ विशेष रहने ‘महोत्सव चलचित्र छनोट समिति’को विश्वास छ। गत जुनमा निफले विश्वव्यापी आवेदन खुलाएको थियो। त्यसै निफ फागुन २१ देखि सुरु हुने घोषणा गरिएको थियो। तर, फागुनमा आम निर्वाचन हुने भएपछि मिति एक महिनापछि सारिएको छ।
अध्यक्ष पाठक भन्छन्, ‘निर्वाचन हुँदा यातायात देखि सुरक्षाका विषयहरू सरोकारमा पर्छन्। यिनै सुरक्षा र जटिलतालाई मध्यनजर गरी तथा आगामी निर्वाचन विशेष महत्त्वको भएकोले सबैको चासो र आम जनता सहभागिता हुनुपर्ने अवस्थालाई समेत ख्याल गर्दै निफलाई एक महिनापछि सारिएको हो।’
निफको शीर्ष अवार्ड सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रका विजेताले ‘गौतम बुद्ध अवार्ड’बाट एक हजार ५०० अमेरिकी डलर नगद र ट्रफीले पुरस्कृत हुनेछन्। त्यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रका विजेता एक लाख रुपैयाँ नगद र ट्रफीले सम्मानित हुनेछन्।
डकुमेन्ट्री फिल्म विधामा सर्वोत्कृष्ट ठहर हुने ‘माउन्ट एभरेस्ट अवार्ड’ विजेता घोषित भई पुरस्कार स्वरूप एक हजार अमेरिकी डलर र ट्रफी पाउनेछन्। सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर चलचित्र विधाका विजेता पनि पाँच सय अमेरिकी डलर र ट्रफीले सम्मानित हुनेछन्।
एआई चलचित्र विधाका विजेता ‘मञ्जुश्री अवार्ड’मार्फत पाँच सय अमेरिकी डलर र ट्रफीले पुरस्कृत हुनेछन्। अन्तर्राष्ट्रिय स्टुडेन्ट सर्ट फिल्मका विजेताले ‘बेस्ट स्टुडेन्ट फिल्म अवार्ड’ को ट्रफी पाउनेछन्।
राष्ट्रिय सर्ट फिल्म विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड’मार्फत पचास हजार रुपैयाँ नगद र ट्रफी पाउनेछन्। त्यस्तै, राष्ट्रिय डकुमेन्ट्री विधाका विजेताले ‘वेस्ट नेसनल डकुमेन्ट्री’ अवार्डको ट्रफीसहित पचास हजार रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन्। राष्ट्रिय फिचर चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा लेखक, छायाँकार चाहिँ ट्रफीले पुरस्कृत हुनेछन्।
माघ १, २०८२ बिहीबार १६:४०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।