महाधिवेशनको निर्णय नै सर्वोपरि हुन्छ : गगन थापा

महाधिवेशनको निर्णय नै सर्वोपरि हुन्छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाले नयाँ कार्यसमितिको अभिलेख निर्वाचन आयोगले अद्यावधिक गर्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। 

विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गर्न आयोगमा निवेदन दिएपछि सञ्चारकर्मीसँग थापाले नेतृत्व परिवर्तनसम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए। विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको दाबी गर्दै उनले महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरि हुने दाबी गरे।

उनले भने, ‘विशेष महाधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णयसमेत गरेको छ, जसका कारण विद्यमान केन्द्रीय कार्य समिति परिवर्तन भइसकेको छ। नयाँ केन्द्रीय कार्य समितिको विवरण राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार हामीले आयोगमा निवेदन दिएका हौं।’

थापाका अनुसार कांग्रेस पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको हो। उनले पार्टी विधानको धारा १५ अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय नै अन्तिम र सर्वोपरि हुने स्पष्ट पारे।

थापाले आयोगमा आवश्यक सबै विवरण तथा प्रमाण बुझाइसकिएको बताउँदै माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले भोलि वा पर्सिसम्म अद्यावधिक प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरे। उनले विशेष महाधिवेशनका निर्णयहरू सार्वजनिक भइसकेको पनि उल्लेख गरे।

उनले भने, ‘हामीले आज निर्वाचन आयोगमा त्यही कुरा हाम्रो विशेष अधिवेशन सम्पन्न भयो र त्यसले लिडरसिप परिवर्तन गरेको छ। केन्द्रीय कार्यसमिति नै नयाँ आएको छ। त्यसलाई अद्यावधिक गरिदिनुहोला भनेर आयोगमा निवेदन लिएर आएका हौं। चाहिने सबै विवरण हामीले बुझाएका छौं। माघ ६ गते उम्मेदवारी मनोनयनको कुरा छ। त्यसैले भोलि ढिलोमा पर्सिसम्ममा अद्यावधिकको काम टुङ्गिन्छ भन्ने विश्वास छ। हामीले सबै तथ्य प्रमाणसहित बुझाएका छौं। बाहिर पनि सार्वजनिक छन्।’ 

माघ १, २०८२ बिहीबार १६:०९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।