शासनको मनोबल कमजोर हुँदा देशमा चुनावी वातावरण छैन : महेश बस्नेत

शासनको मनोबल कमजोर हुँदा देशमा चुनावी वातावरण छैन : महेश बस्नेत

काठमाडौं : एमाले सचिव महेश बस्नेतले अहिले देशमा चुनावी वातावरण नरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुरक्षा निकायको मनोबल कमजोर रहेको र शान्ति सुरक्षाको अवस्था नाजुक भएको दाबी गरे।

सचिव बस्नेतले एमालेले चुनाव बहिष्कार गर्ने हल्ला निराधार रहेको स्पष्ट पारे।

उनले भने, ‘एमालेले चुनावमा भाग लिन्छ र? भन्ने प्रश्नहरू आइरहेका छन्। हामीले चुनावमा भाग लिँदैनौँ भनेर कहिले पनि भनेका छैनौँ। हाम्रो भनाइ अहिले चुनावको वातावरण छैन भन्ने मात्र हो।’

उनले प्रहरी, प्रशासन र सेनाको मनोबल गिरेको बताउँदै भने, ‘प्रहरीहरू घाइते छन्, चौकीहरू जलेका छन्, लुटिएका हतियारहरू अझै फिर्ता आएका छैनन्। जेलबाट भागेका कैदीहरू पक्राउ परेका छैनन् र आपराधिक गतिविधिहरू निरन्तर बढिरहेका छन्।’

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको कडा आलोचना गर्दै बस्नेतले सरकारले आफूलाई ‘नारीको सरकार’ भने पनि व्यवहारमा कुनै सुधार नदेखिएको आरोप लगाए।

उनले भने, ‘अदालतभन्दा पनि न्याय जलेको अवस्था छ। ठूलो जनदबाब र रवि लामिछानेसँगको टसलका कारण कुलमान घिसिङले राजीनामा दिए पनि अन्य मन्त्रीहरूको कार्यशैलीमा कुनै सुधार देखिएको छैन।’

बस्नेतले युवा पुस्तालाई अघि ल्याउनुपर्ने र पुराना दल तथा नेताहरूको काम छैन भन्ने जस्ता अभिव्यक्तिहरू एमालेलाई कमजोर बनाउने षड्यन्त्र भएको जिकिर गरे।

उनले भने, ‘यस्ता अभिव्यक्तिहरू घुमाई फिराई एमालेलाई कमजोर बनाउने र रवि लामिछानेहरूलाई बलियो बनाउने रणनीतिक चालबाजी मात्र हुन्।’

माघ १, २०८२ बिहीबार १४:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।