आफूलाई केन्द्रीय सदस्य दाबी गर्दै शेखर कोइरालाको आह्वान : ‘हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं’
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल नभएकोमा दुःख व्यक्त गर्दै कार्यकर्ताहरूलाई घर फर्कन र पार्टीमा फर्कन आह्वान गरेका छन्।
मंगलबार आफूलाई केन्द्रीय सदस्य दाबी गर्दै जारी गरेको एक वक्तव्यमा उनले पार्टी विभाजनलाई ‘नियतिको कठोर सत्य’ को संज्ञा दिएका छन्।
नेता कोइरालाले आफूहरू सबै कहीँ न कहीँ चुकेको स्वीकार गर्न कुनै संकोच नभएको बताउँदै को दोषी र को निर्दोष भन्ने बहसमा अल्झिएर राष्ट्रिय राजनीतिलाई थप धमिलो बनाउन नचाहेको स्पष्ट पारेका छन्।
वक्तव्यमा कोइरालाले पार्टी फुटाउन राजधानीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय षडयन्त्रका अनेक तानाबाना बुनिएको र कांग्रेसलाई कमजोर पार्न चाहनेहरूको स्वार्थलाई रोक्न नसकिएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘दृश्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ। कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा सबैको इमान्दार प्रयास थियो, तर त्यसो हुन सकेन।’
नेता कोइरालाले महामानव विपी कोइरालालाई स्मरण गर्दै विगतमा पनि केही व्यक्ति र समूहले विपीलाई छाडेर गएको र त्यसलाई विपीले ‘नियतिको खेल’ भनेको प्रसंग कोट्याएका छन्।
‘म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु’, उनले भने।
आसन्न निर्वाचनमा कांग्रेसको आठ दशक लामो इतिहासको गौरव जोगाउने जिम्मेवारी काँधमा आएको भन्दै उनले सम्पूर्ण कांग्रेसजनको एकता अपरिहार्य रहेको बताए।
उनले आम कार्यकर्ताले निर्माण गरेको पार्टी भएकाले अग्रज नेता र सहिदहरूको प्रेरणाबाट नेपालको भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए।
अन्त्यमा, डा. कोइरालाले पार्टीभित्र सुधारका प्रक्रिया नरोकिने प्रतिबद्धता जनाउँदै भने, ‘म आह्वान गर्छु- हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ जीतहार कसैको छैन, सबैको विन-विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ।’
उनले छोटो समय भए पनि यथासम्भव चुनावी अभियानमा कार्यकर्ताको घरदैलोमा पुग्ने कोशिश गर्ने बताएका छन्।
माघ १, २०८२ बिहीबार १३:५६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।