सवारी दुर्घटनामा सात जनाको मृत्यु, सुनसरीमा मात्रै ५ जनाले ज्यान गुमाए
काठमाडौं : बिहीबार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन्। सुनसरी, धनुषा र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
सुनसरीको भोक्राह नरसिंह गाउँपालिकास्थित हुलाकी राजमार्गमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ।
विराटनगरबाट राजविराज जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रकको पछाडि बसेका बर्जु गाउँपालिका–१ का एकै बस्तीका ५ जनाको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा वीरेन्द्र गुरुङ, ब्रह्मदेव गुरुङ, टेकबहादुर गुरुङ, निसु गुरुङ र चन्द्रबहादुर गुरुङ रहेका छन्। दुर्घटनामा ३ जना घाइते भएका छन्।
जनकपुरधामका दुई फरक स्थानमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्। शुभचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा क्षिलेश्वनाथ नगरपालिकाका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको छ।
यस्तै, रामानन्द चोकमा टिपरको ठक्करबाट साइकल यात्री ३० वर्षीया नितु साह गम्भीर घाइते हुनुभएको छ। टिपरको आतंक बढेको भन्दै स्थानीयले विरोध समेत जनाएका छन्।
झापाको कनकाई नगरपालिका–३ मा बस र पिकअप भ्यान एकआपसमा ठोक्किँदा १८ महिने बालक आरुत राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
मे १ च ४५१५ नम्बरको पिकअप र ना ५ ख २१४९ नम्बरको बस ठोक्किएका हुन्। बस चालक फरार छन् भने पिकअप चालक प्रहरी नियन्त्रणमा छन्।
माघ १, २०८२ बिहीबार १२:२५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।