चितवनको चैनपुरमा मोटरसाइकलको ठक्करपछि ट्रकले किच्दा पैदलयात्रीको मृत्यु
चितवन : चितवनको खैरहनी नगरपालिका-२ चैनपुर चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको कलैया नगरपालिका-७ घर भई हाल खैरहनी-२ चैनपुर बस्ने अन्दाजी ४०/४५ वर्षीय प्रदेशी बोटे रहेका छन्।
बुधबार साँझ करिब साढे ७ बजे मधेस प्रदेश ०३-०३६ प १२६५ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका बोटेलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट सडकमा लडेका उनलाई पछाडिबाट आएको नम्बर नखुलेको ट्रकले किचेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका बोटेलाई उपचारका लागि बकुलर अस्पताल टाँडी लगिएकोमा राति ८:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक सागर पन्तको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने मोटरसाइकल चालक र ठक्कर दिने ट्रकसहित ट्रक चालक फरार छन्।
फरार चालक र ट्रकको खोजी भइरहेको तथा शवलाई पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
माघ १, २०८२ बिहीबार १०:१६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।