अफगानिस्तानका क्रिकेटरले वर्षमा तीन वटा मात्र विदेशी लिग खेल्न पाउने
एजेन्सी : अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले आफ्ना खेलाडीहरूका लागि नयाँ नियम लागू गरेको छ।
काबुलमा भएको वार्षिक साधारण सभाबाट पारित नयाँ नीतिअनुसार अब अफगानी क्रिकेटरहरूले वर्षमा अधिकतम तीनवटा मात्र अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न पाउनेछन्।
खेलाडीहरूको फिटनेस र मानसिक स्वास्थ्यलाई जोगाउन तथा राष्ट्रिय टिमको खेलमा असर नपरोस् भन्नका लागि बोर्डले यो निर्णय गरेको हो।
बोर्डले सन् २०२६ को अक्टोबरतिर यूएईमा आयोजना गर्ने ५ टिम सहभागी हुने आफ्नै ‘अफगानिस्तान प्रिमियर लिग (एपीएल)’ बाहेक खेलाडीले अन्य ३ वटा विदेशी लिग मात्र खेल्न पाउनेछन्।
बोर्डको यो निर्णयले रशिद खानजस्ता विश्वभर माग भएका स्टार खेलाडीहरूलाई आर्थिक रूपमा घाटा लाग्न सक्छ।
टी-२० क्रिकेटमा सर्वाधिक विकेट लिने रशिद खान हाल दक्षिण अफ्रिकाको एसए२० लिगमा एमआई केपटाउनको कप्तानी गरिरहेका छन्। उनी भारतको आईपीएल, यूएईको आईएलटी-२० र अमेरिकाको एमएलसीजस्ता धेरै लिगका प्रमुख खेलाडी हुन्।
रशिदबाहेक नूर अहमद, मुजिब उर रहमान, एएम गजनफर र रहमानुल्लाह गुरबाजजस्ता खेलाडीहरू पनि विश्वभरका लिगमा व्यस्त हुने गरेकाले उनीहरूलाई पनि यो नियमले असर गर्नेछ।
अन्य देशका बोर्डले पनि खेलाडीको वर्कलोड व्यवस्थापन गर्न यस्तै नियम बनाएका छन्। उदाहरणका लागि, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्ना खेलाडीलाई पाकिस्तान सुपर लिग (पीएसएल) बाहेक दुईवटा मात्र विदेशी लिग खेल्न अनुमति दिन्छ।
अफगानिस्तानले अब वेस्ट इन्डिजविरुद्ध यूएईमा तीन खेलको टी-२० शृङ्खला खेल्ने तालिका छ भने त्यसपछि टोली सन् २०२६ को टी-२० विश्वकपका लागि भारत जानेछ।
माघ १, २०८२ बिहीबार ०८:५४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।