‘सरकारी सुविधाको अत्यधिक प्रयोग गरेको’ भन्दै अमेरिकाद्वारा नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया स्थगित
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासनमा कडाइ गर्दै नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी भिसाको प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आप्रवासी भिसा प्रक्रिया रोकिने देशहरूको सूची सार्वजनिक गरेको हो। उक्त सूचीमा नेपालको नाम पनि समावेश छ। यो निर्णय आउँदो जनवरी २१ देखि लागू हुने बताइएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, अमेरिकी जनताको करबाट चल्ने सरकारी सेवा सुविधाको अत्यधिक प्रयोग गर्ने देशका नागरिकहरूको भिसा प्रक्रिया रोकिएको हो।
मन्त्रालयले भनेको छ, ‘जबसम्म नयाँ आप्रवासीहरूले अमेरिकी जनताको सम्पत्ति वा स्रोतसाधनमा भार पार्दैनन् भन्ने सुनिश्चित हुँदैन, तबसम्म यो रोक कायम रहनेछ।’
यो निर्णयले अमेरिकामा स्थायी बसोबासका लागि पीआर/ग्रिन कार्ड वा सोसरहको प्रक्रियामार्फत जान चाहने नेपालीहरूलाई प्रत्यक्ष असर पार्नेछ। अब ती प्रक्रियाहरू रोकिनेछन्।
यद्यपि, अमेरिकाले गैर-आप्रवासी भिसामा भने रोक लगाएको छैन। यसको अर्थ, छोटो समयका लागि पर्यटक भिसा वा व्यापारिक भिसामा अमेरिका जान चाहने नेपालीहरूलाई यो नियमले कुनै बाधा पुर्याउने छैन।
अन्य कुन-कुन देश परे ?
अमेरिकाले सार्वजनिक गरेको ७५ देशको सूचीमा दक्षिण एसियाबाट नेपालसहित भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स लगायतका देशहरू समेटिएका छन्। यसबाहेक ब्राजिल, इजिप्ट, थाइल्याण्ड, म्यानमार, इरान, इराक जस्ता देशहरू पनि यो सूचीमा छन्।
सन् २०२५ को जनवरीमा सत्तामा फर्किएपछि राष्ट्रपति ट्रम्पले आप्रवासीहरू विरुद्ध कडा नीति अपनाउँदै आएका छन्। उनको प्रशासनले अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो देश निकाला अभियान चलाउने घोषणा गरेको छ।
पछिल्लो एक वर्षमा मात्रै अमेरिकाले १ लाखभन्दा बढीको भिसा रद्द गरिसकेको छ भने ६ लाखभन्दा बढी मानिसलाई देश निकाला गरेको छ।
माघ १, २०८२ बिहीबार ०८:३२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।