कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु : नवनिर्वाचित सभापति गगन थापा
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका सभापति गगनकुमार थापाले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर कहिल्यै निहुरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सभापति पदमा निर्वाचित भएपछि बुधबार राति विशेष महाधिवेशनस्थलमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै थापाले प्रत्येक सदस्यलाई ‘म कांग्रेस हुँ’ भन्दा गौरव लाग्ने पार्टी बनाउने दृढता व्यक्त गरे।
सम्बोधनका क्रममा थापाले भने, ‘जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरू कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन। नेपाली कांग्रेसको शान उच्च राख्नेछु।’
उनले नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा कांग्रेस साथमा छ भन्ने महसुस गराउने गरी काम गर्ने बताए।
नवनिर्वाचित सभापति थापाले यो विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्र नभई आधुनिक नेपालको इतिहासमै भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे।
उनले भने, ‘भुइँ तहका कार्यकर्ता भनेका जनताका प्रतिनिधि हुन्। यो नागरिकले दलभित्र गरेको हस्तक्षेप हो।’
पार्टीको आन्तरिक जीवन र वैधताको विषयमा बोल्दै थापाले नेपाली कांग्रेस कुनै हालतमा नफुटेको दाबी गरे। उनले वैधानिक रूपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने जिकिर गरे।
त्यसअघि, केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए।
माघ १, २०८२ बिहीबार ०८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।