गगन-विश्वमाथिको कार्वाहीबारे कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेल भन्छन् “जे निर्णय भयो ठिक भएन”
काठमाडौं : पार्टी विभाजन हुन नदिन सहमति गर्ने भनेर छलफलकै चरणमा एकाएक नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गर्यो।
यता विशेष महाधिवेशन निर्वाचनको चरणमा प्रवेश गरिसकेको अवस्थामा पनि विशेष पक्षधर आठ बुँदे माग पठाएर सहमतिको प्रयासमा थियो। तर केन्द्रीय समितिले कारबाही गरेपछि उनीहरू निर्वाचनको चरणमा प्रवेश गरे। यसले पार्टीलाई विभाजनतिर धकेलेको छ। गगन-विश्वलाई कारबाही गरेको केन्द्रीय समितिको बैठकको निर्णयबारे केन्द्रीय सदस्य गोविन्द पोखरेलसँग उकेराकर्मी प्रजु पन्तले गरेको छोटो कुराकानी :
आज महामन्त्रीहरूलाई कारबाही गर्दा केन्द्रीय समितिको बैठकमा सबैको समर्थन थियो ?
हिजो ढिलो मिटिङ सुरु भएकाले म आज पनि ढिला होला भनेर ढिलै जाने विचार गरेको थिएँ। केही समयपछि समाचारबाट थाहा पाएँ उहाँहरूलाई कारबाही भएछ।
यो कारबाही ठिक हो या अनुचित ?
दुःखद घटना हो। ऊर्जाशील युवालाई स्पष्टीकरण दिने मौका समेत नदिईकन कारबाही गर्नु गलत हो। हठात् यसरी कारबाही गर्नु उचित भएन। नेपालको लोकतन्त्र संविधान नै आउट अफ ट्र्याकमा गएको बेला लोकतान्त्रिक शक्तिमा दरार उत्पन्न हुनु दुखद मात्रै होइन उपयुक्त समेत होइन। जे भयो गल्ती भयो।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा केन्द्रीय समितिले किन अपनत्व लिएन?
मैले सुरु देखि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाको कदर हुनुपर्छ भनेर बोल्दै-लेख्दै आएको हुँ। तर हामीले भनेको कसैले सुनेन। कम्तीमा केन्द्रीय समितिले विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा परिणत गर भनेर भन्नु पर्दथ्यो। केही पनि नभन्नु, हस्ताक्षरको बेवास्ता गर्नु ठिक भएन।
तपाईँ आफू विशेषतिर त जानु भएन नि त !
केन्द्रीय समितिमा बस्ने अनि आफ्नै विरुद्ध आयोजना भएको विशेषमा जाने कुरा भएन। महाधिवेशन प्रतिनिधि मात्रै भएको भए जान्थेँ।
कांग्रेस विभाजित हुनुमा को बढी दोषी त?
कांग्रेस भित्र लोकतन्त्र र देशको लागि सोच्ने भन्दा पनि म कुन पदमा पुग्ने भन्ने लडाइ भयो। क्रोध घमन्ड आक्रोश रह्यो।
अब कांग्रेस कसरी अघि बढ्छ ?
अझै समय छ। निर्वाचनको मुखमा फुट्नु भन्दा जुट्नु नै ठिक हो। अझै शीर्ष नेता मिलेर एकताबद्ध हुनु पर्छ।
पुष ३०, २०८२ बुधबार २०:४९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।