गगन-विश्वमाथिको कारबाही कांग्रेसको विधान अनुसार अवैध

गगन-विश्वमाथिको कारबाही कांग्रेसको विधान अनुसार अवैध

काठमाडौं : विशेष महाधिवेशन गरेको आधारमा पार्टीको केन्द्रीय कार्यसमितिबाट दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितमाथि गरेको कारबाही नेपाली कांग्रेसको विधान अनुसार अवैध देखिएको छ।

कांग्रेसको विधान अनुसार कुनै पनि सदस्य वा निकायमाथि अनुशासनको कारबाही गर्दा सफाइ पेस गर्ने मौका (स्पष्टीकरण) दिनुपर्ने स्पष्ट वैधानिक व्यवस्था छ।

सफाइको मौका सुनिश्चितता: विधानको धारा ३४ (४) (र) मा स्पष्ट उल्लेख गरिएको छ- "अनुशासन सम्बन्धी कारबाही गर्दा आफ्नो सफाइ दिने मौकाबाट कसैलाई पनि वञ्चित गरिने छैन"।

यो नियम जिल्ला, प्रदेश र केन्द्रीय तीनै तहका अनुशासन समितिहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ। तर बुधवार कारबाहीको निर्णय गर्नु अगाडि उनीहरूसँग स्पष्टीकरण सोधिएको छैन।

विधान अनुसार कुनै सदस्यले पार्टीको आदर्श, नीति वा विधान विपरीत कार्य गरेको उजुरी परेमा वा जानकारी प्राप्त भएमा, अनुशासन समितिले सम्बन्धित व्यक्तिसँग जानकारी लिने, स्पष्टीकरण माग्ने र छानबिन गर्ने प्रक्रिया पुरा गर्नुपर्दछ।

विशेष महाधिवेशन सुरु भएपछि अनुशासन समितिको बैठक बसेको छैन। उसले स्पष्टीकरण समेत सोधेको छैन। यस आधारमा गगन-विश्वसहितका नेताले कारबाही विरुद्ध कानुनी बाटो अपनाएमा सो निर्णय बदर हुने देखिन्छ।

पुष ३०, २०८२ बुधबार १७:४३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।