निर्वाचन आयोगमा देउवा-शेखर पक्षको पत्र 'काठमाडौंमा भइरहेको भनिएको महाधिवेशन पार्टीको हैन'

निर्वाचन आयोगमा देउवा-शेखर पक्षको पत्र 'काठमाडौंमा भइरहेको भनिएको महाधिवेशन पार्टीको हैन'

काठमाडौं : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर अद्यावधिका लागि निर्वाचन आयोग जानु अगाडि नै नेपाली कांग्रेसको शेरबहादुर देउवा र शेखर कोइराला पक्षले निर्वाचन आयोगमा पुगेर कांग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको पत्र बुझाएको छ।

यता सहमतिका लागि संवाद र केन्द्रीय कार्यसमितिको बैठक राखिरहेको बेलामा अर्को टोली आयोग पुगेर नेपाली कांग्रेस पार्टीको नाममा पुस २६ देखि २८ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरिएको’ पत्र बुझाएको हो।

पुस २६ गतेदेखि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहेको छ। महाधिवेशनको कार्यतालिका अनुसार आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। विशेष पक्षधरले सहमतिको अन्तिम प्रयासका लागि भन्दै आठ बुँदे माग पठाएको थियो।

त्यसमा केन्द्रीय समितिको बैठकमा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार तोकेर जानुपर्ने बाहेकको सबै मागमा सहमत रहेको रमेश लेखकले ब्रिफिङ गरेका थिए। तर एकाएक कार्यसमितिले गगन र विश्वसहितका नेताहरूलाई पाँच वर्ष पार्टीबाट निष्कासन गरेको निर्णय भएको सार्वजनिक गर्यो। 

विशेष महाधिवेशनलाई नेतृत्व चयनको चरणमा जानबाट रोक्न निरन्तर त्रिपक्षीय संवाद भए पनि निर्वाचन आयोगमा बुझाएको पत्रमा कांग्रेसले ‘नेपाली कांग्रेसको नाममा काठमाडौं विशेष महाधिवेशन भएको भनी विभिन्न सञ्चार माध्यममा आएकोले त्यस्तो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको नगरेको ब्यहोरासमेत अवगत गराइन्छ' लेखेको छ।

पुष ३०, २०८२ बुधबार १७:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।