विशेष पक्षधरले राखेको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा बाहेक सात बुँदामा संस्थापन पक्ष सकारात्मक
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशन पक्षधरको तर्फबाट आएको आठ बुँदे प्रस्तावमध्ये पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने प्रस्ताव स्वीकार गर्न नसक्ने नेताहरूले बताएका छन्। बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको तर्फबाट आएको आठ बुँदे प्रस्तावबारे जानकारी गराउँदै रमेश लेखकले अन्य सात बुँदामा समस्या नरहेको तर भावी प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तोकेर जाने विषयमा भने सहमति हुन नसक्ने जानकारी गराएको बताएका थिए।
महामन्त्रीहरूले पार्टी सभापतिले उम्मेदवारी पत्रमा हस्ताक्षर नगर्नेदेखि लिएर निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरेसम्मका सबै प्रस्तावहरूमा सकारात्मक रहे पनि भावी प्रधानमन्त्रीको उम्मेदवार पहिला नै तोकेर जाने विषयमा पुनर्विचार गर्न भनेको लेखकले जानकारी दिए।
"विशेष महाधिवेशनको अपनत्व ग्रहण गर्ने र त्यसमा पारित भएका प्रस्तावहरू आवश्यकता अनुसार संशोधन गरेर स्वीकार गर्ने भनेपछि चुनावमा अन्य दलसँग गठबन्धन गर्ने विषय नै रहेन," उनले बैठकमा भने " पार्टी सभापतिले उम्मेदवारको पत्रमा हस्ताक्षर नगर्ने, संसदीय बोर्ड गठन गर्ने, पाँच जना नेता रहने गरी हाई कमान्ड गठन गर्ने विषयमा पनि हामी सकारात्मक छौँ भनिसकेका छौँ। तर भावी प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै घोषणा गर्न सकिन्न।"
पुष ३०, २०८२ बुधबार १५:५९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।