चितवनमा माघ २ देखि ‘८औँ नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ हुँदै

चितवनमा माघ २ देखि ‘८औँ नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ हुँदै

चितवन : कृषि क्षेत्रको आधुनिकीकरण र नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा माघ २ देखि ४ गतेसम्म ‘८औँ नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ आयोजना हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा हुने यस अन्तर्राष्ट्रिय प्रदर्शनीप्रति किसान, उद्यमी र सरोकारवालाहरूको उल्लेख्य आकर्षण देखिएको छ।

आयोजकका अनुसार स्टल बुकिङ तीव्र गतिमा भइरहेको र हाल सीमित स्टल मात्र बाँकी छन्। एक्स्पोमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कम्पनीहरूको सहभागिता रहनेछन्।

प्रदर्शनीमा कृषि औजार, मेसिनरी, डेरी, पशुपालन, बीउ-बिजन, मल, कीटनाशक, फुड प्रोसेसिङ तथा कृषि सम्बन्धी वित्तीय समाधानहरू प्रदान गरिनेछन्।

​​​​​​सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था रहेको प्रदर्शनीको प्रवर्द्धकमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेका छन् भने सहयोगी संस्थाका रूपमा दुग्ध विकास बोर्ड, कृषि सहकारी संघ, पोल्ट्री महासंघ लगायत विभिन्न सङ्घसंस्थाहरू रहेका छन्।

यो एक्स्पो कृषक, उद्यमी, अनुसन्धानकर्ता र विद्यार्थीहरूका लागि आधुनिक प्रविधि अवलोकन, ज्ञान आदानप्रदान र व्यावसायिक सहकार्यका लागि महत्त्वपूर्ण प्लेटफर्म हुने विश्वास आयोजकले लिएको छ।

पुष ३०, २०८२ बुधबार १४:०५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।