राजनीतिक सन्देश प्रवाह गर्ने एसएमएस सेवा प्रदायकलाई नेपाल टेलिकमको चेतावनी

राजनीतिक सन्देश प्रवाह गर्ने एसएमएस सेवा प्रदायकलाई नेपाल टेलिकमको चेतावनी

काठमाडौं : नेपाल टेलिकमले आफ्नो भ्यालु एडेड सर्भिस प्रणाली प्रयोग गरी विभिन्न मोबाइल नम्बरमा राजनीतिक प्रकृतिका सन्देश नपठाउन एसएमएस सेवा प्रदायकहरूलाई सचेत गराएको छ।

पछिल्लो समय केही सेवा प्रदायकले व्यापारिक प्रयोजनका लागि अनुमति लिएर राजनीतिक सन्देशहरू पठाएको भन्दै सेवाग्राहीबाट गुनासो आएपछि टेलिकमले यस्तो चेतावनी दिएको हो।

टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सम्बन्धित सेवा प्रदायकलाई सचेत गराइएको छ।’

टेलिकमले व्यापार प्रवर्द्धनका लागि एसएमएस सेवा सञ्चालन गर्न विभिन्न कम्पनीहरूलाई स्वीकृति दिएको भए पनि कुनै पनि ग्राहकको व्यक्तिगत मोबाइल नम्बर र विवरण उपलब्ध नगराएको स्पष्ट पारेको छ।

आगामी दिनमा सर्वसाधारणको नम्बरमा यस्ता सन्देश नपठाउन टेलिकमले आग्रह गर्दै ग्राहकको गोपनीयताप्रति आफू सधैँ संवेदनशील रहेको प्रतिबद्धता जनाएको छ।

पुष ३०, २०८२ बुधबार १३:४६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।