सानेपामा कांग्रेस कार्यवाहक सभापति खड्काले भने- ‘पार्टी फुटतर्फ अघि बढ्यो, अब बैठक रोकिँदैन’
काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको सङ्घारमा पुगेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा संस्थापन पक्षका नेता-कार्यकर्तासँगको छलफलका क्रममा खड्काले विशेष महाधिवेशन पक्षधरहरू पार्टी फुटाउनेतर्फ नै अग्रसर भएको निष्कर्ष सुनाएका हुन्।
बुधबार बिहानको वार्ता असफल भएपछि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा जम्मा भएका नेता तथा कार्यकर्तालाई पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए।
उनले सभापति शेरबहादुर देउवा सहमतिका लागि अधिकतम लचक भएर टिकट वितरणमा हस्ताक्षरको अधिकार छाड्न समेत तयार हुँदा पनि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन प्रक्रिया नरोकेको गुनासो गरे।
खड्काले भने, ‘सभापतिज्यूले सहमतिका लागि हदैसम्मको लचकता देखाउनुभएको थियो। हस्ताक्षरको अधिकार छाड्छु भन्नुभएको थियो। तर, उहाँहरूले मान्नुभएन र निर्वाचन प्रक्रिया अघि बढाउनुभयो। यसबाट उहाँहरू पार्टी फुटाउनेतर्फ नै अघि बढेको देखियो।’
विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा उम्मेदवारी मनोनयन प्रक्रिया सुरू गरिसकेकाले अब सानेपामा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक नरोकिने खड्काले स्पष्ट पारे। हिजोदेखि सर्दै आएको बैठक आज बस्ने र विशेष महाधिवेशनका गतिविधिबारे आवश्यक निर्णय लिने उनले जानकारी दिए।
‘अब बैठक हिजोको जसरी रोकिँदैन, पार्टीले आवश्यक कदम चाल्छ’, खड्काले भने।
विशेष महाधिवेशन पक्षले सभापतिमा गगन थापा र महामन्त्रीमा विश्वप्रकाश शर्मा तथा प्रदीप पौडेलको उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा संस्थापन पक्षले कडा कदम चाल्ने सङ्केत गरेको छ।
पुष ३०, २०८२ बुधबार १२:४३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।