थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा विद्यार्थीसहित २२ जनाको मृत्यु

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा विद्यार्थीसहित २२ जनाको मृत्यु

एजेन्सी : थाइल्याण्डमा बुधबार बिहान भएको एक भयानक रेल दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य ७९ जना यात्रु घाइते भएका छन्। बीबीसीका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ।

दुर्घटना थाइल्याण्डको राजधानी बैंककबाट करिब २३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तमा भएको हो।

स्थानीय समयअनुसार बिहान करिब ९:०५ बजे तीव्र गतिमा गुडिरहेको यात्रुवाहक रेलमाथि अचानक निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खसेको थियो।

अधिकारीहरूका अनुसार रेलवे पुल निर्माणमा प्रयोग भइरहेको उक्त क्रेन गुडिरहेको रेलमा बजारिएको थियो।

क्रेन एक्कासी खसेका कारण रेलका चालकले ब्रेक लगाउने मौका समेत पाएनन्। क्रेनको ठक्कर र मलबा खसेपछि रेलका थुप्रै डिब्बाहरू लिकबाट बाहिरिएका (डिरेल) थिए। लिकबाट खस्नासाथ डिब्बाहरूमा आगो लागेको थियो।

दुर्घटनाग्रस्त रेलमा सवार यात्रुहरूमध्ये अधिकांश विद्यालयका विद्यार्थीहरू रहेको अधिकारीहरूले जनाएका छन्।

न्युज वेबसाइट ‘नेसन थाइल्याण्ड’ का अनुसार क्रेनको टक्कर यति शक्तिशाली थियो कि रेलका सिसाहरू फुटेका छन् र रेल नराम्ररी क्षतिग्रस्त भएको छ।

दुर्घटनालगत्तै उद्धार टोली घटनास्थल पुगेको थियो। उद्धारकर्मीहरूले रेलमा लागेको आगो नियन्त्रणमा लिइसकेका छन्।

यद्यपि, कुच्चिएका डिब्बाहरूभित्र अझै पनि केही यात्रुहरू फसेको हुनसक्ने अनुमान गरिएको छ। फसेकाहरूलाई निकाल्नका लागि कटिङ र स्प्रेडिङ उपकरणहरूको प्रयोग भइरहेको छ।

हालसम्म घटनास्थलबाट १२ जनाको शव निकालिसकिएको छ। प्रशासन र रेलवे अधिकारीहरूले क्रेन किन खस्यो र निर्माण स्थलमा सुरक्षा नियमहरूको पालना भएको थियो वा थिएन भन्ने विषयमा गम्भीर अनुसन्धान सुरू गरेका छन्।

पुष ३०, २०८२ बुधबार १२:१०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।