नेतृत्व मिलेर मात्र हुँदैन, ‘मास’को सेन्टिमेन्ट उपेक्षा गर्न मिल्दैन : राजेन्द्र बजगाईं

नेतृत्व मिलेर मात्र हुँदैन, ‘मास’को सेन्टिमेन्ट उपेक्षा गर्न मिल्दैन : राजेन्द्र बजगाईं

काठमाडौं : नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीभित्रको आन्तरिक विवाद नेतृत्व तहमा मिले पनि तल्लो तहसम्म (मास) पुगिसकेकाले अवस्था जटिल बनेको टिप्पणी गरेका छन्।

बुधबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच वार्ता भइरहेका बेला देउवा निवास महाराजगन्ज पुगेका बजगाईंले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले कांग्रेसभित्रको अहिलेको परिस्थितिलाई ‘जटिल’ र ‘अप्रिय’ को संज्ञा दिए। बजगाईंले भने, ‘अवस्था जटिल छ। यो कुनै प्रिय अवस्था होइन।’

‘महामन्त्रीहरूलाई हलबाट अर्को दबाब पर्न सक्छ’
नेता बजगाईंले शीर्ष नेतृत्व तहमा सहमति नजिक पुगे पनि त्यसलाई आम कार्यकर्ताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने चुनौती रहेको औँल्याए। उनले ‘मास’को भावना विपरित नेतृत्वले निर्णय गर्न नसक्ने जिकिर गरे।

‘नेतृत्व तहमा कुरा मिले पनि तल ‘मास’मा कुरा गइसकेको छ। मासको सेन्टिमेन्टलाई नेतृत्वले उपेक्षा गर्न सक्दैन,’ बजगाईंले भने, ‘महामन्त्रीहरूले हलमा (विशेष महाधिवेशन स्थल) गएर सल्लाह गर्दा अर्को दबाब पर्न सक्छ।’

उनले यदि नेतृत्वले कार्यकर्तालाई मनाउन सकेन भने माथिल्लो तहको सहमतिले मात्र सार्थकता नपाउने संकेत गरे।

‘मासले भनेको मान्दिनँ भन्ने हो भने समस्या हुन्छ, मासलाई मनाउन गयो भने कुरा मिल्छ’, उनले थपे।

संस्थापन लचक देखियो
यद्यपि, नेता बजगाईंले वार्ताका क्रममा संस्थापन पक्ष लचक देखिएको प्रतिक्रिया दिए।

महामन्त्रीहरूले उठाएका विषयमा सभापति देउवा लचक भए पनि विशेष महाधिवेशनमा सहभागीहरूको मनोविज्ञानले अन्तिम नतिजा प्रभावित गर्न सक्ने उनको विश्लेषण छ।

देउवासँगको छलफलपछि महामन्त्रीद्वय थापा र शर्मा ‘साथीहरूसँग सल्लाह गरेर आउँछौँ’ भन्दै बाहिरिएका छन्।

पुष ३०, २०८२ बुधबार १०:४७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।